बाल्यकाल,
चेतशुन्य! थिएन यो र त्यो सोच,
खायो, खेल्यो बालापनको मोज
आमाको हातले चल्न सिकायो,
बुबाको आँखाले संसार देखायो।

यौवनावस्था,
आंखा र मुख तिखा, कान वन्द,
कुरो एकातिर, हुन्थे अर्कै धन्दा
ठूला सपना, हुन्थे सम्बन्ध नयाँ
चन्चल तन मन, रुमलिने छाया ।

मध्य-उमेर,
जिम्मेवारीले थिचेको मनुवा,
अब हामी आफैं आमा-बुबा
उहाँहरूकै त कुरा सम्झिन्छौं
“समय छिटो उड्छ नानी! बाबु!”

बुढ्यौली,
नाति-नातिनीको हाँसोमा
आफ्नै बाल्यकाल फर्किन्छ,
जीवन कुमालेकाे चक्र रहेछ,
शुन्यबाट फेरि सुरु हुने चक्र।

पुस्ता–पुस्ताबीच,
मायाले बाँधिएको सम्बन्ध,
सम्वन्धले बचाएको माया
उनीहरूले हेरिरहेका छन्
हामीले कसरी हेर्‍यौं भनेर ।

सबैले सम्झौं,
चाहिने सहयोग टेको हो,
आजका साना हातहरू नै
भोलिका सहाराहरू हुन्
पुस्तौनी सम्बन्ध नटूटोस् ।