मुक्तक १
देशलाई बचाएझैँ गरी देश बेचेर सत्ता चलाउनेहरू,
घरभित्रै सुरुङ बनाएर देशको ढुकुटी लुकाउनेहरू,
बाँचुन्जेल तड्पिनेछन्, मर्ने बेला पानी पाउने छैनन्
जनताहरूको रगत, पसिनामा पौडी खेल्दै रमाउनेहरू।

मुक्तक २
दलाल नेताको खोल ओढ्नमा पाइला सार्ने कस्तो नियति तिम्रो?
आफ्नो जागिर बचाउन कलिला युवा मार्ने कस्तो नियति तिम्रो?
देशभक्त थियौ भने बर्दी फुकालेर आदेश दिनेलाई लात मार्थ्यौ,
भ्रष्टको आदेशमा आमाको कोख रित्तो पार्ने कस्तो नियति तिम्रो?

मुक्तक ३
सुरक्षाको घेरालाई तोड्ने छोरा, तिमी पनि अपराधी हौ,
आगो लगाउने, घर फोड्ने छोरा, तिमी पनि अपराधी हौ।
शान्तिपूर्ण आन्दोलनमा सहभागी भएर कुकर्म गरी
लुटपाट गरेर सम्पत्ति जोड्ने छोरा, तिमी पनि अपराधी हौ।

मुक्तक ४
दुर्गन्ध हट्यो, हुरी रोकियो, बर्सात चल्यो अब त हाँस्नुहोस्,
ठग-बन्धन, चोरहरूको सरकार ढल्यो अब त हाँस्नुहोस्।
आज हाम्रो नेपाल देशमा शहीदहरूको बलिदानबाट
विशाल रूपमा परिवर्तनको दीप बल्यो अब त हाँस्नुहोस्!

मुक्तक ५
करेन्ट पनि हुन्छ, उज्यालो पनि हुन्छ, बिजुलीको तारमा पनि,
सबै पापी नै थिएनन्, थिए असल व्यक्तित्वहरू सरकारमा पनि।
एउटा माहुरीले मीठो मह बनाउँछ, एउटा माहुरीले खाइदिन्छ,
यहाँ शोषकहरू त थुप्रै भेटिन्छन् माहुरीहरूको घारमा पनि।