खेतका गरालाई सम्माउँदै,
आली पोत्दै,
हिलोले लतपतिएका कर्मठ हातहरू।
हिले आलीमा टुक्रुक्क बसेर,
हिलाम्मे पहिरनसँगै हातका औँलाहरू
पखालेर असारे खाजाको स्वाद।
घाँसका भारीसँगै पसिनाले छपक्क भिजेको मुहार।
गोबर सोर्दासोर्दै बाच्छाको पुच्छरले
निधारमा लगाइदिएको गोबरको टीका।
माटोले धुँदा पनि नहराएको
गोबरको बास्ना आउने हातले बनाएको
‘अर्गानिक’ मीठो खाना।
मान्छे, चराचुरुङ्गी, कुकुर, बिराला, बाँदर
सबैको मुखमा छन् किसानको पसिनाकै थोपा।
सम्भ्रान्त सुकिला मान्छेभन्दा
सुन्दर लाग्छन् फोहोर कृषक।
अर्थको अनर्थ नखोज!
धर्तीको मधुरस धारी कृषक
अनुपम सौन्दर्यका उपमा हुन्!
अमूल्य, अनमोल, बहुमूल्य
पसिनामृत रत्नले सुशोभित
श्रमजीवी किसान आफैँमा
धर्तीका अलङ्कार पनि हुन्।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ कार्तिक २०८२, शुक्रबार 




