जो देशको लागि बोल्दा बोल्दै ढल्यो
ज्यानको आहुति दिन आन्दोलनको आगोमा जल्यो
गोली कता पो लाग्यो थाहा पाएन सायद
एक्कासी चारैतिर मृत्युको हल्ला चल्यो
घरमा सानी छोरी आइसक्रिम कुरेर बसेकी थिई
उ आईसीयुबाट निकालियो
छोरोले भकुण्डो आश गरेर बसेथ्यो
उ आफै कसैको भकुण्डो भयो सायद
बा-आमाको टेक्ने लौरो भाच्चियो
नजान रोक्दारोक्दै केही सीप नलागेर रिसाइरहेकी श्रीमती
अर्धचेत भई भुँईमा ढलिन्
साथीभाई भावविह्वल भए
नातागोता नियाउरिए
छरछिमेकमा खैलाबैला भयो
साँझ नपरी सूर्य डुब्याे, घाम अस्तायो
केही दिनपछी सरकारले घोषणा गर्यो
उ शहीद भयो !
घरमा केही जिनिस, केही नगद सहयोग आयो,
अमिलो मनले बुढा बा ले ग्रहण गरे
सबैले छोरा देशको लागि शहीद भयो भने
बुढा बा लाई किन हो किन चित्त बुझिरहेकै थिएन
मन थाम्न सकिरहेकै थिएनन्
भक्कानो फुटाएर रोए
बिजनेस मल लुटपाट र आगजनी गर्दा जल्ने
पुलिस चौकी जलाउन जाँदा मर्ने
आपसमा ग्याङ फाइटमा मर्ने,
र मेरो छोरोको मरण एउटै हो सरकार?
उनी छाती पिटी पिटी चिच्याउन थाले
विद्यालयपनि भर्ना नभएका नाती नातिनाले सम्झाए
हजुरबा नरूनुस्, हामी छाैँ,
हामी शहीद हुन्नौँ !!



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ कार्तिक २०८२, शुक्रबार 




