हामीलाई थुन्ने कानुन? मान्दै मान्दैनौँ।
हा-हुबाट बनेको सरकार, जान्दै जान्दैनौँ।।
संसद विघटन किन रे? मान्दै मान्दैनौँ।
ख्याति घटेकोले, निर्वाचनमा जाँदै जाँदैनौँ।

हामी फेरि उठ्नेछौँ, एकीकृत भई जुट्नेछौँ।
र, सङ्गठित तवरले, देश फेरि लुट्नेछौँ।।

को हो जेनजी? आन्दोलन रे? मान्दै मान्दैनौँ।
को कता मारिए? हामी जिम्मा लिँदै लिँदैनौँ।।
विश्राममा थियौँ कतै, डरले लुक्दै लुकेनौँ।
भोट माग्दाबाहेक, हामी कतै, झुक्दै झुकेनौँ।।

हामी फेरि उठ्नेछौँ, एकीकृत भई जुट्नेछौँ।
र, सङ्गठित तवरले, देश फेरि लुट्नेछौँ।।

हामीबिना देश चल्छ र? मान्दै मान्दैनौँ।
मतदानपछिको जनता, चिन्दै चिन्दैनौँ।।
कुशासन रे? असम्भव, हामी मान्दै मान्दैनौँ।
हामीविरुद्ध उभिनेलाई, छोड्दै छोड्दैनौँ।।

हामी फेरि उठ्नेछौँ, एकीकृत भई जुट्नेछौँ।
र, सङ्गठित तवरले, देश फेरि लुट्नेछौँ।।

पदहरू सबै लिलाममा, अरू जान्दै जान्दैनौँ।
झोले र किनेकोबाहेक, अरू छान्दै छान्दैनौँ।।
कुर्सी अंशमा आएको हो, छोड्दै छोड्दैनौँ।
राष्ट्र कङ्गाल नबनाई, छाड्दै छाड्दैनौँ।।

हामी फेरि उठ्नेछौँ, एकीकृत भई जुट्नेछौँ।
र, सङ्गठित तवरले, देश फेरि लुट्नेछौँ।।