ईश्वर !!
मेरो देशको खातिर,
तिम्रो सम्झना ।।

हे, ईश्वर,
हिमशिखरको सर्वोच्च स्थानमा
विराजमान तिमी
आज यो अलौकिक संसारको
निर्माणको निम्ति कयौँ वर्षको
त्याग, तपस्या र जुनीपश्चात् प्राप्त
मानव जुनी आफ्नै र आफ्नाकै
कारण शून्यतामा विलय हुन
खोजिरहेछ,
त्योभन्दा पहिले म एक पटक
तिम्रो दर्शन चाहन्छु,
किनकि मैले जीवनभरि जति
भोक, तिर्खा, ग्लानि, उपेक्षा र
तनावग्रस्त समय गुजारें,
त्यो थियो आफ्नो कारण अर्कोलाई
दुःख नहोस् भनेर नै थियो,
म हुर्किंदाको अँगेनोको
छेउमा भएको रित्तो डालो,
लेख्न खोज्दा सकिएको कलमको
मसी,
भोक लाग्दा सलबलाएको पेटको
आगो,
देखि लिएर हुर्कँदै जाँदा स्वावलम्बी
बन्ने क्रममा लागेको बेरोजगारीको ज्वाला,
सानातिना रोजगारीका क्षेत्रमा
भोगेका साना राजाहरूका सामन्तीपूर्ण शैली,
देशकै उच्च पदमा आसीनहरूकै
नजिक हुँदा पनि एउटा शिर झुकाएर
रोजगारी
माग्न नसकेको मेरो स्वाभिमान,
आफ्नो चुलोनिरको डालोमा
चामलको गेडा सकिँदा,
छेउकै रगतको साइनोको घरमा
भकारी नै देख्दा पनि
केही भन्न नसकेर फर्किएका मेरा पाउहरू,
कहिले थाकेनन्,
विपत्ति, अभाव, चरम गरिबीको यात्रादेखि
मैले म बन्न नसकेर एउटा नारी हुनाकै खातिर
कम्तीमा एक मुठा साग र आफ्नो एकसरो
लुगा लगाउने बन्न आफ्नो आधा उमेर
सकाएको यथार्थता,
एउटा छाना, नाना र खाना अनि सानो
कामको खातिर कति हृदयहरूले
आत्मसम्मानको बलिदान दिनुपर्छ,
एउटा चाहना मार्नलाई कतिवटा
सपनाको बलिदान दिनुपर्छ!!
त्यो भोग्नेलाई मात्र थाहा हुन्छ,
र पनि अर्कोलाई दुःख दिएर
श्रम, आँसु, सद्भाव सदैव दिने कुरा नै
मेरो पुर्खाहरूले
यो नेपाली माटोबाट सिकाए,
मेरो बालापन एकल जीवनको
रापमा बाँच्नुभएकी हजुरआमा
जो जहिले आफ्ना बलवान्
सँधियारसँग समेत झस्किएर कति दिन
त्राससहित सुत्न जानुहुन्थ्यो,
म सानो नाबालिका लिएर,
उहाँको आँसुले समेत आफ्नो माटोको
जगेर्ना गर्न आँटिलो भएर उभिएका
थिए,
मेरो आमाले आर्थिक अभावका चपेटामा पनि
मेरो मुस्कानको निमित्त घरेलु श्रमभन्दा शिक्षा
बाट स्वावलम्बी बन्न हरदम प्रेरित गर्नुभयो,
तर आज जीवनको झन्डै आधा गोरेटो
हिँडिसक्दा
कयौँ पटक देखेका क्रूर लडाइँ
एवं इतिहासमा पढ्दा पनि
मन धमिलो हुने अवस्थाबाट आएर
विकास र बौद्धिकताको चरम सीमामा
आउँदा त्यो विगतको पुस्ताजतिको पनि
मानवता, देशभक्ति अनि माटोको
एवं राष्ट्रका सम्पत्तिको
माया गर्ने जमात मेरो हृदयले देख्न पाएन,
यो जगत्मा,
मानव अधिकार,
महिला अधिकार,
बाल अधिकार लगायत
धेरै वटा अधिकारभन्दा पहिले
मान्छे हुन पाउने अधिकारको
खोजी नै भएन,
बेरोजगारी र मौन आवाजभित्रको
श्रमजीवीको दैनिकी नै आगोको ज्वालामा
दन्किनुपर्ने पीडा कहिँ देखिएन,
देशको सीमापारिबाट सुन्दर शान्त माटोमा
फर्कन चाहने र सीमाभित्र बस्नेहरूको निमित्त
बाँच्न मात्र पुग्ने सुन्दर
बाटिका निर्माण गर्न सकिएन,

यहाँ विध्वंसात्मक क्रीडाबाट
समृद्धिको नतिजामा पुग्न सकिन्न,
भनेर चेतना भरिदिन पनि
ईश्वर तिम्रो एक भौतिक
उपस्थितिको आवश्यकता परेको
महसुस भएको छ।