युद्धको विभीषिकाबाट
खण्डहर भएको प्यालेस्टाइनजस्तै
हिरोसिमा र नागासाकीमा
बमले बनाएको विनाशजस्तै
हृदयको आकाशमा चट्याङ बनेर
एउटा निर्दयी समाचार आयो
तर तिमी आएनौ दादा।
तिम्रो आगमनको प्रतीक्षामा
कैयौँ रातहरू मसँगै जाग्राम बसे
तिम्रा अनगिन्ती यादहरू
मेरो देहसँगै अनशन बसे
तर वर्षौँदेखि बलिरहेको
आशाको दीप निभाउँदै
क्रूर सुनामी आयो
तर तिमी आएनौ।
मैले रोपेका सयपत्री फूलहरू
तिम्रो स्वागत र सम्मानमा
आँगनभरि फूल बोकेर
तिमीलाई पर्खिरहेछन्
मैले भर्खरै किनिदिएको
तिम्रो सुन्दर वस्त्रले
तिमीलाई खोजिरहेछ
आउनै लागेको भाइटीकाले
तिम्रो ठूलो निधारमा
बहिनीको आशीर्वाद मागिरहेछ
तर भर्खरै मेरो हृदयमा बारुद बनेर
एउटा दुःखद समाचार आयो
तर तिमी आएनौ।
सपनाको फूल टिप्न गएका तिमी
ग्रिनेट टिपेर फाल्यौ
बुद्धको देशमा जन्मेका तिमी
युद्धको क्रूरताले जल्यौ
रक्तपातले भरिएको युद्धभूमिजस्तै
निरस र भत्किएको यो हृदय जलाउन
एकाबिहानै तिम्रो समाचार आयो
तर तिमी आएनौ।
तिमीलाई जिउँदो देख्ने
मेरो आशाको दीप कहिल्यै निभेन
मेरो विश्वासको पहाड कहिल्यै ढलेन
तिम्रो आमाको आशीर्वाद कहिल्यै थाकेन
मेरो बाबाको सपना कहिल्यै जल्यो
तर आज एकाएक
आँसु, पीडा र विछोड बनेर
तिम्रो दुःखद समाचार आयो
तर तिमी आएनौ प्रिय।
न इजरायल तिम्रो थियो
न प्यालेस्टाइन तिम्रो थियो
न तिम्रो कुनै दोष नै थियो
तिमीसँग त केवल जीवन थियो
तर युद्धको जाँतोमा
अहङ्कारको रणभूमिमा
तिमी र तिमीजस्तालाई पिसेर
हजारौँ आमाहरूलाई मार्ने
हजारौँ जीवनलाई समाप्त पार्ने
युद्ध कसका लागि थियो??
युद्ध के का लागि थियो??।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 










