आफ्नो सपना
घरको साम्फेमाकुटेर
निस्केका कणहरूलाई
पठाउँछौ सन्तानको सपना रङ्गाउन
आफ्नो रहरहरूलाई जाँतोमा पिसेर
कल्पिन्छ्यौ तिम्रा रङ्गीन दुनियाँ
कुप्री परेका तिम्रा ढाडमा
अडिन छोडेका छन् डोकोका काम्राहरू
कम्मरले थेग्न छोडेका छन्
पँधेरीबाट ल्याइने गाग्रीहरू

तर
जुन उदास होला
ताराहरू निराश होलान्
फूलहरू रुन्छन् यहाँ
आमाको मुहारमा कहिल्यै देखिएनन् ती चिजहरू
कति रात छुटेका छन्
प्रेसर अनि सुगरका गुट्टी खान
तर कहिल्यै छुटेनन् सन्तानको नाममा भात पस्किन
छोडेनन् कहिल्यै पितृहरूलाई भाकल गर्न।
बिराएनन् कहिल्यै छोराको शिरफूल पाल्न,
अन्जानमा पनि सन्तानकै लागि
धड्किने मुटुहरूभित्र
छाया बनी रहने सन्तानको माया,
अँध्यारोमा छुट्लान् भनेर

जलाउन छोडेकी छैनन् निरन्तर आफ्नै मुटु
जलेको मुटुको प्रकाशमा छाया बनेर
उनका प्रगतिशील पदचाप पछ्याउन,
छाया बनाउने मायाहरूलाई
क्षितिज बनाउँदै हुलका हुल
पस्छन् एयरपोर्ट अनि
हुइँकिन्छन् पश्चिम दिशा
निर्जीव बनेपछि फर्कन्छन् त्यही बाटो भएर
छातीमा अजम्बरी सुइरो रोपेर
यहाँ सन्तानविहीन आमा-बाको पीडा
टुहुराको भन्दा दर्दनाक छ,
उसँग शारीरिक सामर्थ्य पनि सकिँदै छ।
सिकुवा छिमेकी भएका छन्
आँगन परदेश

कुकुर-बिरालोसँग भाषा मिलेको छ,
कुखुरा र परेवासँग प्रेम बसेको छ,
निदहरू  वैरी भएका छन् यहाँ
तकियाहरू बिझाउने काँडा,
आवाजशून्य आँसुले भिज्छन् चोली र भोटो,
खै किन,
स्कूलको अभावमा
वृद्धाश्रम किन मौलाइरहेछ?