बर्षौँदेखि
हरेक बिहान उषाको प्रभातीसँगै
उसलाई सम्झिएँ र
पठाइरहेँ मित्रताको न्यानो आभाष
अर्पण गरेँ श्रद्धाको फूल र
छपाइरहेँ ‘शुभप्रभात’को शीतल सन्देश
सायद
सद्भावको चस्मा थियो
मेरो मनको आँखामा

तर एकदिन
जब जम्काभेट भयो एउटै बाटोमा
उसले भिरबाट घोक्र्यायो नराम्रोसँग
जसलाई मित्र ठानिरहेँ बर्षौँदेखि
सायद ऊ अघिल्लै जन्मको शत्रु रहेछ
उपाधी पोतेर टलक्क देखिन्थ्यो
भित्रभित्रै त पत्रु रहेछ
म चकित परेँ
उसको समीप बस्नुभन्दा खुसी खुसी झरेँ

फेरि तत्काल उठेँ
एउटा दृढ विश्वास बोकेर
एक दिन ऊ
पश्चातापको भुङ्ग्रोमा जल्ने छ
र आफैँभित्र दनदनी बल्ने छ
त्यो पनि निकट भविष्यमै

किनभने
एउटा शाश्वत सत्य
उसमा पनि पक्कै लागु हुनेछ
त्यो के भने
दुःखी भएको मान्छे
एकदिन खुसी हुन सक्छ
तर दुःखी बनाउँने मान्छे
कहिले पनि खुसी हुन सक्दैन ।।