हिजो
घरपरिवारको आँसु र रहर पिउँदै
आफ्नै रगतको आहाल बनाउँदै
गोलीका खोका र घाउका टाटाहरू शरीरमा टाँस्दै
जीवन मृत्युको धारमा पाइन लाउँदै
मैले चौडा छातीको विनिमय गरें
र त
हरेक मिसनको पटाक्षेपसँगै
बहादुरीका पदक र तक्माहरू झुन्ड्याएँ ।
रगतको कार्पेटले रङ्गिएको
मेरो बहादुरीको यात्रामा
बजाएर विजयका करतल ध्वनिहरू
थप उत्तेजित र तरङ्गित मन र मस्तिष्क बोकेर
रगतमय यात्राका टाकुराहरूमा अग््लिँदै गर्दा
छुन खोज्थ्यो
विशाल, सुन्दर र शान्त आकाशहरू ।
आज
बिलाउँदो छ यौवनका भरभराउँदा तरङ्गहरू
लम्कँदै छ आयु किनारतिर
कुरुप बन्दै छ जोश, जाँगर र उमङ्गहरू
शरम लाग्छ अब त
छातीमा टाँस्न
मेरा यी बहादुरीका निशानीहरू पनि
किनकि
यी पहेंलपुर पदक र तक्माहरूभित्र
खिया लागेका अन्तरकथावस्तुहरू
पीडादायी बनेर टाँसिएका छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ कार्तिक २०८२, शनिबार 




