म सानो हुँदा
स्कुल पठाउन बा आमा तयार हुनुहुन्थ्यो
स्कुल पठाउनुहोस् भनेर भन्नु परेन
कसैले पनि
साक्षर बुबा आमा आफूले धेरै पढ्न नसकेकोमा चिन्तित हुनुहुन्थ्यो।
अझ
जागिर खान नसकेकोमा
अनि छोराछोरी सबै मास्टर भैदिऊन् भन्नुहुन्थ्यो
तर म मास्टर हुन सकिनँ
बा आमा ‘पढ-पढ’ भन्नुहुन्थ्यो
मलाई बा आमा आफू नपढेर मलाई किन ‘पढ-पढ’ भनेको होला भन्ने लाग्थ्यो।
पढ्न फिटिक्कै मन नलागेपनि म पढे जस्तो गर्थें
मट्टीतेलको टुकीको उज्यालोले
बिहान नाकबाट कालो सिँगान आउँथ्यो।
अहिले जस्तो पेन्सिल थिएन
सिसाकलम हुन्थ्यो
पेन्सिलकटर पनि थिएन
सिसा खुर्किने भन्थ्यौँ
सिसा खुर्किने पनि सबै सँग हुन दुर्लभ थियो
घरकै हँसियाले खुर्किने हाम्रो चलन थियो।
अलि पछि डटपेनको चलन आयो
मसी सकिएपछि सुई बदल्न मिल्ने
अनि फाउन्टेन कलम आयो
मसी भरेर लेख्ने
चाइनिज कलम आयो
चाइनिज कलम किन्न सक्नु अलि ठुलै उपलब्धि थियो।
एक दिन मलाई बाले चाइनिज कलम ल्याइदिनु भयो
छोरो मास्टर बनाउने सपना पुरा गर्न
केही दिनमानै चाइनिज कलम हरायो
घरमा कलम हरायो भन्न पनि सकिनँ
हराएको भेटाउन पनि सकिनँ
साथीले फाउन्टेन कलम कामचलाउ भनेर दिँदा
एउटा घर नै उपहार दिए झैँ त्यो दिन म बिर्सन्न
कक्षाकोठाबाटै चाइनिज कलम हराएको पनि बिर्सन्न
यस्तै-यस्तै सम्झना अनगिन्ती छन्
गाउँघरमा कतै-कतै रेडियो हुन्थ्यो
टोलभरिका मान्छे जम्मा भएर
पाण्डव सुनुवारको चौतारी
अनि
घटनाविचार सुन्ने ठुलै भीड हुन्थ्यो
त्यो एक किसिमको एकता
आज कतै-कतै हराएको छ।
स्कुल जानु, पढ्नु मात्र थिएन
घट्टमा मकै पिस्नु पनि ड्युटी हुन्थ्यो
बिहान स्कुल जाँदा एउटा भारी
अनि फर्कंदा अर्को भारी त्यो अनिवार्य जस्तै थियो
टिफिनको बन्दोबस्त हुन्नथियो
झोला बोकेर सडकको छेउमा ‘बाइ-बाइ’ गर्ने आमाको अभाव थियो।
आमा घाँसको जोहोमै व्यस्त हुनुहुन्थ्यो
बा मलाई मास्टर बनाउन साहुको भारीमै व्यस्त
यस्तै-यस्तै थियो
प्रेमिल थियो
सबैका उस्तै थिए
एकनास थियो
बाका सपना र मेरो गराइ केही मिल्दा थिए
केही अमिल्दा थिए
बा मेरो भविष्यको लागि पसिना बगाउनु हुन्थ्यो
म बाले आराएको मान्नु पर्छ भनेर पसिना बगाउँथे
पसिना बगाएर पनि म मास्टर हुन सकिनँ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 




