चराहरूले
लगाउन बाध्य भएपछि
पोलिथिनका गुँड,
कालो देखिन थालेका छन्
हिमालहरू ।

जङ्गलहरूले
थालेपछि ओढ्न
आगोका लप्काहरू,
बहुलाउन थालेका हुन्
खोलाहरू बेमौसम।

कालै नाङ्गिएपछि हिमालहरू
अचम्मले
थालेका हुन् टुट्न
हिमबस्तीका
चक्रहरू,
ठडिएका छन्
हिमालै जत्रा
त्रासका थुप्राहरू ।

हटाइन थालेपछि
हरिया चादरहरू
ढाडबाट पहाडका
सुरु भएको छ जगजगी
पहिरोहरूको,
नाचिरहेछन्
प्राणीहरूको मृत्युका खबर
पहिरो भएर ।

सुकाइएपछि पोखरी र तालहरू
फल्न थालेका छन्
खेतबारीहरूमा भोकमरी
बेलाकुबेला
बौलाहा भइदिने खहरेहरूले
निलि गएका छन्
पुराका पूरा
प्राणीहरूका भोकहरू, तिर्खाहरू ।

चुस्न थालिएपछि
चुरे र भावर क्षेत्रका चैन
बाफ बन्न थालेको छ हावा,
उम्लिरहेका छन्
माटोहरू
डढाइरहेका छन्
तराई र फाँटहरूलाई ।

मान्छेले
समुन्द्र चुस्यो,
हिमाल ताछ्यो
खोल्यो वस्त्र पहाडको,
लुट्नु लुट्यो तराई ।
बिस्तारै
ऊ, आफैँ
पुरै मानव सभ्यताको
कारण बनिरहेको छ
विनाशको…….
प्रिय मान्छे
पुरै पृथ्वी मासेर
के
तिमी चैनले बाँच्छौ त ????