जब–जब पुर्खाले बसाएका बस्तीहरू
बिस्तारै–बिस्तारै उजाड भएको देख्छु,
जब–जब मान्छे बस्ने घरहरूमा
जङ्गली जनावरहरूको बस्ती भएको देख्छु,
तब–तब मनमनै विचार गर्न थाल्छु कि
यो परिवर्तनको पीडा पनि कति दर्दनाक हुँदो रहेछ भनेर,
यो समयको शक्ति पनि कति बलवान् हुँदो रहेछ भनेर।
समयले दिएको यस पीडाभित्र पनि
अकस्मात् आइदिन्छन्
सम्झनाका कथाहरू,
पुराना रीतिथितिहरू।
र अनि
विद्रूप हुन थाल्दछन् वर्तमानका आविष्कारहरू,
आफ्ना तथाकथित उपलब्धिहरू र कमाईहरू
र लाग्न थाल्छ, यो कोलाहलभन्दा
त्यही शान्ति पो आनन्ददायक थियो कि?
यो भीडभाडभन्दा त्यही एकान्तता पो राम्रो थियो कि?
कस्तो सौहार्दपूर्ण समाज थियो त्यस बेला!
कस्तो प्रेम, सद्भाव र सहयोगको भावना थियो त्यस बेला!
केही नभए पनि धेरै भएको जस्तो,
गरिब भए पनि धनी भएको जस्तो,
धनी भए पनि गरीबै भएको जस्तो।
सबै काम, सबै जिम्मेवारीहरूको निष्पादन—
सहकार्यैबाट, पारस्परिक सहयोगैबाट हुनुपर्ने
सामाजिक विधान।
चाहे कुनै धनी होस् वा निर्धन,
सबैले सबैको काम मिलेरै गर्नै पर्ने,
सबैले सबैको काममा प्रत्यक्ष रूपमा सहभागी हुनै पर्ने,
चाहे त्यो व्यक्तिगत कार्य होस् वा सामाजिक कृत्य,
सबैले सबै ठाउँमा हुनै पर्ने, देखिनै पर्ने।
आहा!
कस्तो स्वचालित सामाजिक व्यवस्था!
कस्तो परस्परनिर्भर भेदभाव–विहीन जीवनशैली!
अभावमा पनि पूर्णताको अनुभव गर्न सकिने कस्तो प्रावधान!
त्यसैले त “ऐँचोपैँचो”, “खेडी”, “पडम”, “साँटो”, “पड्याँल”
जस्ता व्यवस्थाहरू निर्धारण गरिएका होलान्।
त्यसैले त खेल खेल्ने एउटै साझा “खलो” र एउटै “जाँत” को व्यवस्था भएको होला!
आजभोलिका “परमज्ञानी”हरूले
पुराना पुस्तालाई जतिसुकै अज्ञानी, निरक्षर
या रूढिवादी भने पनि,
उनीहरूको जीवनशैलीको जतिसुकै उपहास गरे पनि,
उनीहरूमा रहेको चेतनाको स्तर र सामाजिकताको भावनालाई
आजको “ज्ञानी समाज”ले ग्रहण नै गर्न सक्तैन।
अतीतको त्यो सुन्दर प्रतिबिम्ब
जब अकस्मात् स्मृति–पटलमा आउँछ,
मनभित्र एकै चोटी अनेकाैँ सम्झनाहरू
सप्तरङ्गी इन्द्रेणी बनेर आउने गर्छन्।
एक–एक दृश्य र परिदृश्यहरू
जम्मा भएर बसिदिन्छन् अदृश्य रूपमा!
अन्तर्हृदयको अन्तर कन्दरामा अमिट छाप बनेर
र दुखाउन सम्म दुखाउँछन् गहिरा घाउ बनेर!
त्यो सघन वनको शीतल छाया,
त्यो मातृभूमिको कोमल काया,
त्यो माटोको मीठो बास्ना,
त्यो दुबोको कमलो डसना,
त्यो चराहरूको चिरबिर बोली,
त्यो गोरु, त्यो जाँत र दिवाली, होली,
त्यो बाह्रै महिनाको मधुमासको अनुभूति,
त्यो झरनाहरूको जलप्रपातको कर्णप्रिय प्रतीति।
त्यो घोरल, काँकड, चित्तलहरूको सिँगौरी!
त्यो ढुकुरढुकुर्नीहरूको मीठो बोली!
त्यो चखेवाचखेवी र चाखुराचाखुरीहरूको मधुर मिलन!
त्यो कालिज, डाँफे र मुनालहरूको लुकाछुपी!
त्यो चञ्चल मृगशावकहरूको चञ्चलवृत्ति!
त्यो वनउपवनको मादक मोहक कलाकृति!
त्यो नदीमा खेलिरहेका मत्स्यपरिवारको मोहक क्रीडा!
त्यो घुघुती र न्याउली चरीहरूको वियोगी स्वरको पीडा!
ती वैरागी मनले गाएका श्रुतिमनोहर वनगीतहरू,
ती मनमा राज गरी बसेका अनिर्वचनीय मनमीतहरू!
ती सँगै खेलेका, सँगै पढेका साथीहरू,
ती शिक्षाको ज्योति दिने गुरु र गुरुआमाहरू!
ती खोपी खेल्न पारेका बाटैभरिका डोबहरू,
ती इण्ण, रम्बास र काँचा चिउरी र आँपका चोपहरू,
ती ऐँसेलु र किरमडाका काँडाहरू,
ती “आरी”, “बेल्या”, काँस र पीतलका भाँडाहरू!
ती “कुयाहरू”, “चाडीहरू”, “ठेक्याहरू”,
ती आँगनमा रोपेका सुन्तला र मौसमीका
अनमोल बिरुवाहरू,
ती कागती, “अमिला”, “आल्पोखरा” र “आरूहरू”,
ती ओखर, बेल र मेलहरू,
ती मलेडा, दमडा र सिउँतीहरू!
अरू पनि के के कति कति ….
अल्झिएर बसेका छन् मुटुभित्र
सदासदाका लागि…..
छेस्को बनेर!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 




