नेपालका लागि नेपाली भनूँ वा हामी नेपाल,
साबिक नेपाल भनूँ वा बृहत् नेपाल,
भन्न त हामी आफूलाई हामी नै भन्छौँ।
र भन्ने गर्छौँ:
इतिहास बेग्लै छ,
पाल्कीमा पराई राखेर उलिन्काठ कहिल्यै नबोकेको देश।
र सगर्व भन्छौँ पनि, उपनिवेशको कालो धब्बा छैन हाम्रा शिरमा,
सदा स्वतन्त्र हामी र हाम्रो भूमि।

शब्दावरणमा सधैँ स्वतन्त्र रह्यौँ,
तर मन, वचन र कर्मले?
सोच, व्यवहार र आचरणले?
निर्देशनका लागि सधैँ अर्कातिर हेर्छौं,
आफूमा अविश्वास गर्ने मात्र होइन, निर्णयै नगर्ने हौँ हामी।
अरूकै आदेश पालक।

परदेशको इशारामा फेरिन्छन् हाम्रा प्रत्येक साँस,
उन्नति–प्रगतिका लागि सधैँसधैँ उतैको गर्छौं आस,
तिनका परेडमा बुट बजार्छौँ र भन्छौँ हामी कहिल्यै उपनिवेश भएनौँ।
मौलिक विधिविधानलाई रिप लेख्दै
उनका नीति र नियमका पैँतालामुनि आफ्नो शिर राखेर,
गुहार माग्छौँ सधैँ हात फिँजाएर; निहित र क्षणिक स्वार्थसिद्धि

र अल्पानन्दका लागि अस्तित्वै लिलामीमा राख्छौँ र भन्छौँ अझै हामी स्वाधीन छौँ।

आवरणमा स्वाधीनताको गौरव देखाएर,
गुलाम हुन मरिहत्ते गर्छ हाम्रो चेतना भित्रभित्रै।
कस्तुरीले वीणा खोजेझैँ स्वसामर्थ्यका खोजमा भौँतारिँदा–भौतारिँदै
मानसिक पराधीनताको रुग्णता, अपौरख, पराश्रयरूपी कालका मुखतर्फ हामी धकेलिएका धकेलियैकै छौँ।
पौरख गर्न डराउने,
सधैँ आश्रित रहने, र कहिल्यै आफैँ सम्हालिन नजान्ने—
हामी अजिङ्गरका साँसले तानिँदै गरेका असावधान प्राणी हौँ।