अन्धकारको निष्पट्टतालाई चिर्दै–चिर्दै,
आकाशबाट चम्किला तारा झरे पनि,
समयसँगको विप्लवका
घोषित–अघोषित नाराहरूको क्रम टरे पनि,
यथार्थ अझै उस्तै–उस्तै छ,
चोक्टो पानीभित्रको चामल जस्तै–जस्तै छ,
रात अझै बाँकी छ।
संविधानको समाजवादले तानिएर,
गाउँबाट भर्खर सहर छिरेको
एउटा कलिलो ठिटो र उसका दमालीहरू,
जङ्गेको सनकको पटाक्षेपमा
सडकको बीचमा बर्गेल्ती ढलेपछि,
आवेगको अग्निले
अहङ्कारको लङ्का जलेपछि,
आशङ्का—मुलुक दाउमा राख्ने जुवाडेको छुक जस्तै–जस्तै छ,
यथार्थ—औंसीमा घोप्ट्याइएको चुक जस्तै–जस्तै छ,
रात अझै बाँकी छ।
मनसुनले बिदा लिँदै गर्दा क्षणिक विश्रान्ति लिएको
कोसी किनारको झुपडी जस्तो परिवेश,
जाडो यामको लाऽऽऽमो,
भद्रकालीको असफल धर्नापछि मधेस झरेको
उखु किसानको बैङ्क खाता जस्तो अर्थतन्त्र,
कुहिरोको काग जस्तो विवेक,
सबै–सबैको प्रतीक्षा उस्तै–उस्तै छ,
टाऽऽऽढाबाट पूर्व क्षितिजतिर औँल्याइएको किरण जस्तै–जस्तै छ,
रात अझै बाँकी छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 




