गीतः साट्न पाए हुन्थ्यो

मनको कुरा मनसित साट्न पाए हुन्थ्यो
हामीबीच प्रेमको डोरी बाट्न पाए हुन्थ्यो

बोलु भन्दा लाज लाग्ने बोलाउँ कसरी
निभेको त्यो प्रेमको दीप जलाउँ कसरी

लजालु त्यो छेकबारहरु काट्न पाए हुन्थ्यो
हामीबीच प्रेमको डोरी बाट्न पाए हुन्थ्यो

एक आपसको जम्का भेटमा हेर्ने मात्र कति
मन भित्रको कल्पनाको बार घेर्ने मात्र कति

आकासको बादल जस्तै फाट्न पाए हुन्थ्यो
हामीबीच प्रेमको डोरी बाट्न पाए हुन्थ्यो

गीतः कतिसम्म

दुःखाएर मनलाई आँखा तर्ने कतिसम्म
देख्दा देख्दै नदेखे झैं नि गर्ने कतिसम्म

तिम्रा पनि मनभित्र पीडा कति होला
रोक्न कहाँ सकिन्छ र जिन्दगीको खोला
यादहरुमा सम्झनाको डेरा सर्ने कतिसम्म
देख्दा देख्दै नदेखे झैं नि गर्ने कतिसम्म

समयको गतिसितै बग्दै जान्छ जीवन
जोख्नुहुन्न धनसित यति सुन्दर यौवन
भरोसालाई गुमाएर तल झर्ने कतिसम्म
देख्दा देख्दै नदेखे झैं नि गर्ने कतिसम्म

खिजीदेम्बा–खिजीचण्डेश्वरी, ओखलढुङ्गा
हाल: काठमाडौं