“स्मृतिभ्रं शाद्बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।”

-‘श्रीमद्भगवद गीता’, २/६३

 

मलाई तिमी चिन्छ्यौ कि चिन्दिनौ, जान्दिनँ ।

यी बाटाघाटा, यो देउराली भएर अघि पनि हिंडेजस्तो लाग्छ;

यी डाँडाकाँडा, यो हिमाल अघिदेखि नै देख्दै आएजस्तो लाग्छ;

यी चाँप-गुराँस, यो दृश्य पहिल्यैदेखि अनुभूत भइआएजस्तो लाग्छ;

यी चियाबारी, यो जीवनै यहाँ उहिल्यैदेखि भोग्दै आएजस्तो लाग्छ ।

 

लाग्छ मलाई, केवल लाग्छ ।

कति बल गरेर सम्झन खोज्दा पनि अँह,

केही सम्झनै तर आउँदैन;

सम्झना कता-कता होला जस्तो भइदिन्छ केवल

उफ्, मेरो स्मृति पूर्णतया ब्ल्याकआउट छ !

 

स्मृति मैले आफ्नो यहीं कतै हाइपठाएको छु,

तर कसरी अनि कहाँनेर मलाई केही थाहा छैन ।

 

उफ्, केही पनि त याद छैन मलाई !

हराइपठाएको रे मैले यो भयङ्कर एउटा दुर्घटनामा

धन्न ज्यानचाहिं गएनछ !

लाग्छ मलाई-

(नभन्दै लाग्नु नै मलाई सत्य हुनु नै होइन, े

त्यसै तर यो मलाई लागेको पनि अवश्य होइन ।)

हो केवल लाग्छ :

तिमीलाई यतै मैले कतै चिनेको हुँ !

यो वातावरण पनि त सारा मलाई नै ठिम्याउन खोजिरहेछ ।

 

मलाई तिमी चिन्छ्यौ कि चिन्दिनौ, जान्दिनँ :

कि तिमीलाई पनि मलाई जस्तै अम्नेसिआ भएको छ ?

 

अम्नेसिआ यो जो तर मृत्यु होइन जीवनको,

अम्नेसिआ यो किनकि रोग असाध्य होइन मानिसको,

अम्नेसिआ यो जो तर स्मृतिभ्रंश मात्रै न हो बुद्धिको,

अम्नेसिआ यो किनकि मलाई नै भएको छ !

 

हो मलाई त अम्नेसिआ भएको छ !

 

अम्नेसिआद्वारा ग्रस्त छु र पनि केही हूँ,

त्यसो त सम्पूर्ण अतीतको एक परिणाम न हूँ !

शून्यको उत्पत्ति त म कसरी पो हुन सक्दछु ?

तर मेरै विकास-क्रम मलाई नै थाहा रहेन

अरूलाई भएर के भो ?

थाहा नहुनु नै तर त्यो (मलाई थाहा नभएको थोक) नहुनु होइन,

थाहा हुन नै पनि त्यो (मलाई थाहा भएको थोक)

मलाई तर हुनु भइदिएन यहाँ,

त्यो भइदिएर पनि त के गर्नु जबकि स्मरणमै मेरो जो छैन !

अनि त आंशिक आभास मात्र लाग्दछ मलाई यो संसार

मीमेसिस-कुनै अन्तरालस्थ सत्यको

 

यहाँ त सबै थोक मैले बिर्सिपठाएको छु,

आफ्नो विगत जीवनलाई नै स्मरणसितै मैले यहाँ गुमाइपठाएको छु ।

लाग्दछ भर्खरै ब्युँझेको हुँ लामो निद्राबाट,

अनि पाएको हुँ अकस्मात् यो स्थितिमाझ स्वयंलाई;

देखिएको सपनाको सम्झनासमेत तर केही पनि रहेन ममा

कता-कता त्यो मिठास बाहेक यो कटु विपनामा ।

 

चाहिएन मलाई यहाँ पुनासको स्मरण त्यो सत्य होस् तापनि

मलाई त यही जुनिकै स्मरण यहाँ चाहिएको छ,

कस्तो अभिशापको फल हो यो जान्दिनँ ।

उफ्, केही पनि त याद छैन मलाई !

चित्त बुझाउँछु तर आफै-

स्मरण हरायो त के भयो, विगत हराउँछ तेरो कतै ?

थाहा नहुनु नै तर त्यो (मलाई थाहा नभएको थोक) नहुनु होइन ।

तर स्मरणमा मात्रै होइन मैले त यो जीवनमै

आफ्नो विगत हाइपठाएको छु,

– उपलब्धि सारा पनि त्योसितै गुमाइपठाएको छु ।

अनि त मद्वारा मात्रै विगत होइन वर्तमानको विगताधारद्वारै म यहाँ विस्मृत छु

यही विस्मरणको मूल्यमा नै त मैले जीवन-दान यहाँ पाएको छु !

 

मलाई तिमी चिन्छ्यौ कि चिन्दिनौ, जान्दिनँ

कि तिमीलाई पनि मलाई जस्तै अम्नेसिआ भएको छ ?

दुनियाँभरिका ज्ञान-विज्ञानका कुराभन्दा पहिले जान्न चाहन्छु म

(कृपया मलाई बताइदेऊ थाहा छ भने तिमीलाई)

कि मेरो विगत के, कस्तो थियो ?

विवेचन होइन तर तथ्य सुन्न चाहन्छु,

– चाहन्छु म सप्रमाण ।

 

कसरी पत्याऊँ यसै म यहाँ (तिमी नै भन)

धेरैचोटि धोका भइसकेको छ मलाई ।

यत्ति त नपत्याई पनि त भएन तर मैले-

यी मेरा भगवान् जो साँचोमा ढालिएर यसरी निकालिएको रे,

यी मेरा बाबु जो मजस्तै जवान छँदा पल्टनको यो फोटो रे,

यी मेरी आमा जो दोस्रो विश्व युद्धले विधवा तुल्याइदिएको रे,

यी मेरा भाइ-बैना जो यो ट्रेजेडीको बींडो थमिरहेको रे;

सबै तर हो के ? – लागिरहन्छ हर्दम मलाई,

लागिरहन्छ, अनि यी बाहेक ?

छुट्टयाउनै छ यहाँ-त मैले सबभन्दा पहिले आफ्ना बिरानाहरू ।

केका आधारमा तर ?

भर पर्नुपर्ने मसित केवल विश्वास र प्रेमै छ ।

अँ… साँच्ची, मसित यो संस्कार पनि त छ !

 

हो, यही संस्कार आयो ममा अनि कसरी ?

(कृपया मलाई बताइदेऊ थाहा छ भने तिमीलाई;

थाहा छ भने, किनकि अम्नेसिआ नहुँदैमा थाहा हुनैपर्छ,

यो पनि त लाग्दैन ।)

अवश्य तथ्यहरू त मलाई जसोतसो हातपर्दै जालान्

अनुभव तर मैले यहाँ फेरि कहिले गरिसक्नु !

स्मरणसितै मेरा अनुभवहरू पनि त सारा मेटिन गएको छ,

ममा त अनुभव हुन सक्नुपर्थ्यो सारा सन्चित त्यो मेरो विगत

यो वर्तमानमा पनि;)

फेरि थालनीबाटै अनुभवहरू बटुल्नुपर्ने यो मेरो कस्तो वाध्यता !

रहन गएको छु अब त म यहाँ केवल जे-जस्तो परिआउँछ

चूपचाप सहिदिनलाई ।

 

अनि त आफू यो भएको ठाउँमा नै मलाई आइपुग्नु छ,

जान्दिनँ; कति खोला, नदीका त्यही पानी फेरि यहाँ तरेर

तर, मलाई त्यही पानीले नै पर्खिरहेको होला र ?

जसरी मैले स्वयंलाई नै पखिरहेको छु यहाँ !

 

आफ्नै जीवनगत तथ्यहरू अरूकै मुखबाट सुनेर

मैले त यहाँ स्वयंलाई बुझ्नुपरेको छ ।

(कृपया मलाई बताइदेऊ थाहा छ भने तिमीलाई)

सबैलाई म विश्वास गर्न सक्ने होइन,

सबैले मलाई प्रेम गरिदिने होइन;

जबकि भर पर्नुपर्ने मसित केवल विश्वास र प्रेम छ ।

 

प्रेमपूर्वक भनिदेऊ विश्वाससाथ सुन्दछु,

विश्वाससाथ भनिदेऊ प्रेम पूर्वक सुन्दछु,

कि यो निधारका कहिल्यै नमेटिने खोटहरू हुन् रे

त्यही दुर्घटनाका दसी, हो ?

सधैं हेरिरहन खोज्छन् यी आँखा अनि सुमसुम्याइरहन चाहन्छन्

हातका यी औलाहरू ।

 

मलाई तिमी चिन्छ्यौ कि चिन्दिनी, जान्दिनँ !

कि तिमीलाई पनि मलाई जस्तै अम्नेसिआ भएको छ ?

हो, मलाई त अम्नेसिआ भएको छ !

लाग्छ, लाग्छ केवल-

(नभन्दै लाग्नु नै मलाई सत्य हुनु नै होइन

त्यसै तर हो मलाई लागेको पनि अवश्य होइन ।)

यो संगीतमय संसारमा किन बरु म बहिरो भइदिइनँ,

यो सौन्दर्यमय संसारमा किन बरु म अन्धो भइदिइनँ,

यो अभिव्यक्तिमय संसारमा किन बरु म लाटो भइदिइनँ,

स्मरणसितै मेरो यो जीवनको पनि किन बरु अन्त्य भइदिएन !

 

म त एउटा चित्र बिनाक्यानभासको !

म त एउटा गीत विनासरगमको !!

म त एउटा काव्य विनाशब्दको !!!

म आफैलाई कसरी जान्ने, आफैले कसरी बुझ्ने ?

कस्तो अभिशाप यो म भोगिरहेछु !

 

राम्रा-नराम्रा दुवै भएर बरु नराम्रै पक्ष मात्रको होस् सही,

तर स्मरण फर्कियोस् म चाहन्छु;

स्मरणका निम्ति स्मरण होइन, जीवनका निम्ति चाहन्छु;

अवश्य, स्मरण भएकोले विगत होइन;

विगत भएकोले नै स्मरण चाहन्छु !

 

आफैसित त्रस्त छु, अम्नेसिआले न म जो ग्रस्त छु !

विगतबाट चट्ट चुँडिएर आगतमा बाँच्ने कुनै संचित अनुभबिना

बाँच्नुको नाममा भोग्नु परिरहेछ यो अभिशप्त जीवन मलाई

एउटा उस्तै भयङ्कर दुर्घटनाको अपेक्षामा,

जसमा कि त्यो मेरो स्मरण ममा फर्कियोस्

वा मेरो अन्त्यै यहाँ भइदेओस् !

(‘गुमानसिंह चामलिङका केही कविता’बाट)