
१
गुडिहिँड्ने मोटरको चक्का जस्तो जिन्दगी
समयले हान्ने चौका छ्क्का जस्तो जिन्दगी
मृत्युको चाबुक लागे नि जिउनुको मिठास
चिसो याममा तात्तातो भक्का जस्तो जिन्दगी ।
२
दिनमा अलिअली पिँउछु रातमा पिँउछु अलिअली
अरु बेला मरे पनि तिम्रो साथमा जिउँछु अलिअली
रगतको स्वार्थी नाता निभाउन नाङ्गिएको यो जीवन
तिम्रो प्रीतको चोखो साइनो उनी सिँउछु अलिअलि।
३
ठूलो सानो भेदभाव गर्दैन त्यो घाम जून
महल झुपडी सबैको जिब्रोमा नुनिलो नुन
जात वर्ग छुट्याउने गर्छ विवेकशील प्राणी
मान्छे हेरी रङ्ग फेर्दैन उसकै शरीरको खून।
४
गरीब जनतालाई लाग्ने यो देशको कानून त कडा छ
बाहिर कानुनी राज्य भित्रभित्रै भ्रष्टाचारको अखाडा छ
समृद्ध नेपाल सुखी नेपाली नारा त क्या खुब बनियो
संसदमा समृद्धिको बहसभन्दा सत्ता जोगाउने झगडा छ।
५
सम्पति चिन्ने आँखाले सम्बन्ध चिन्न सके हुन्थ्यो
दुःखको समयमा सेवा गर्ने हात किन्न सके हुन्थ्यो
संकटमा सम्पत्तिभन्दा चाहिन्छ मान्छेलाई मान्छे
दानवत्वलाई मानवत्वले सँधै उछिन्न सके हुन्थ्यो।
सूर्योदय न पा -२
इलाम



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

