गजल – १

भोलि पक्कै गर्छु भन्दै मज्जाले ढाँटेको छ
एउटा अल्छीले शिखर चढ्न आँटेको छ

केही चीज बनाउन केही भत्काउनै पर्छ रे
घरको जग बसाल्ने दिन रिबन काटेको छ

कोही पनि भरिपूर्ण हुन सक्दैन जिन्दगीमा
लुगा सिलाउनेहरूको पनि मन फाटेको छ

यो अवस्था बनाइदियो बाछिटोले साहुको
हलीको पानीकागजसँग छाता साटेको छ

साथ दिन समय र अवस्थाले रोक्न सक्दैन
लाछाले पनि त कसैको कपाल बाटेको छ ।

गजल -२

था’छैन उसलाई त्यस्तो के कुराले सताएको छ
ऐनादेखि डराएर आफ्नो नजर लुकाएको छ

शिरमा सजाएर राख्छ सलाईको काँटीले बारूद
अन्त्यमा विचरा उसैको अस्तित्व जलाएको छ

फोहोर मलाई लेखेर टाँस्नै पर्छ र डस्टबिनमा ?
अनपढ सडक बालकले त फोहोर उठाएको छ

रिस, डाह, घमण्ड र ईर्ष्या हेर्न अन्त जानु पर्दैन
कानमा बसेको मुन्द्रोले कपाल अल्झाएको छ

बढो सपना देखेर आयो पल्लो गाउँबाट आफन्त
सम्बन्ध भत्काउनलाई कोखैमा घर बनाएको छ ।

गुल्मी