तिमीप्रति गरेको सबै समर्पण अनि विश्वास हरायो
म तिम्रै हुँ भन्ने तिम्रो आफ्नोपनको आभास हरायो
कुल्चिएर गयौ तिमीले भर, भरोसा र आश्वासनलाई
म उभिएको धर्ती अनि म माथिको आकाश हरायो।
१.
कसलाई देखाउँ मैले यो मनभित्र कति धेरै पीर छ
लक्ष्य भेट्न सकिन्न उक्लनै नसक्ने कठिन भिर छ
चाडबाड दुःखमै बित्छ छैन एकसरो लगाउने लुगा
रोग भोक अभावले पिल्सिएको यो जीर्ण शरीर छ।
२.
तिम्रो प्रेम आस्था भरोसा र विश्वासले बाँचेको छु म
तिम्रो मनमा बल्ने दियोको प्रकाशले बाँचेको छु म
सुन्दैनन् बुझ्दैनन् आफ्नाले मलाई धरोधर्म साथी
तिमी छौ मलाई बुझ्ने यही आभासले बाँचेको छु म ।
३.
जो बस्दैन सतमा कहिल्यै ऊ आचरण सिकाउँछ
उही गर्छ पण्डित्याईँ अनि जीवन मरण सिकाउँछ
भित्र जसले चुक्ली लाउँछ खेदो खन्छ साथी भनी
उही नै जान्ने बन्दै हरदम अन्तस्करण सिकाउँछ।
४.

नवदेव मार्ग, लालभित्ती, मोरङ