गहिरिएर हेर्दा शिक्षामा संस्कार लुकेको हुन्छ
जो जे भने पनि जीवनको आधार लुकेको हुन्छ
हुन त शिक्षा बिना पनि जीवन चलेकै हो प्रिये
तर पनि शिक्षामा हेर्दा त संसार लुकेको हुन्छ ।

जाग न जाग हे विद्यार्थीवर्ग तिमीभित्र नि केही छ
देशको त मुहारै फेर्न सक्छौ तिमीभित्र नि केही छ
तिमीलाई त्यतिकै भविष्यका कर्णधार भनेको होइन
आऊ आफ्नो प्रतिभा निखार तिमीभित्र नि केही छ ।

बाटो देखाउने गर्छु हिँड्ने नहिँड्ने तिम्रो इच्छा
प्रगतिशील हुन्छौ कि दुर्गतिमय त्यो तिम्रो इच्छा
भिडमा हुँदा नि एकान्त त हुन सकिन्छ है प्रिये
एकान्त हुन्छौ कि दिगभ्रान्ति त्यो त तिम्रो इच्छा ।

भोर हुँदा नयाँ जीवन पाएको आभास हुन्छ
बारम्बार यस्तै जीवन पाइरहूँ यो आश हुन्छ
प्रकृतिको रहस्य बुझ्न पाए स्वर्ग सामान प्रिये
स्व प्रकृतिमै आनन्दको रहस्य केही खास हुन्छ ।

जसको जति बुद्धि उति नै ज्ञान समाउँछ
कोही कोही त भ्रमित व्याख्यामा नै रमाउँछ
कतिसम्म ज्ञानी वास्तविकता कदर गर्दैनौ प्रिये
कोही कोही त भ्रम छरेर नै आफूलाई जमाउँछ ।