१.
हिजो थियौँ आज छौँ हामी भोलि थाहा छैन
आमाले टाला लाएको छ छैन चोली थाहा छैन
सधैं आफू फाटा लगाई नयाँ किनिदिने आमाको
आजसम्मको कहिलै पनि नमिठो बोली थाहा छैन

२.
कहिले हँसाउन सक्छ त कहिले रुवाउन सक्छ
यो जिन्दगीले नखाएको विष पनि खुवाउन सक्छ
कुरा नै कुरामा अनेक कुरा आउँछन् मनमा यार
माया गर्ने बहानामा साँचो माया कुहाउन सक्छ

३.
ठीक छ यार जे छ मलाई एकदम ठीक छ
गर्दिन माया प्रेम भो यो त पैसामा बिक्छ
मैले गरिनँ भने भोलि मेरो छोराले पनि गर्दैन
यही ज्ञान आर्जन गरेर छोरोले केही सिक्छ

४.
हो यार उसले मलाई भुलेर गएकी हो
मेरो मन मुटु मस्तिष्क डुलेर गएकी हो
सँगै बाँच्ने, मर्ने बाचा खाएका थियौ तर
बाचा तोडी एक्लै छोडी खुलेर गएकी हो ।

बझाङ, तल्कोट
हाल – चितवन