१.
गणितका जोड घटाउ
जानिएन, बुझिएन
मनहरू पढ्नलाई
कसैसँग सोधिएन ।


विस्मृति नै भए पनि
पुराना ती यादहरू
आकाशमा उड्या छैन
छोड्या छैन साथहरू ।


उज्यालो त्यो उज्यालै छ
जुनकिरीकै भए पनि
आफैँ एक्लै चम्किनलाई
अघि बढ्या छैन तनि ।


विहान हुन्छन्, दिन हुन्छन्
त्यसपछि त रात नै हो
आफ्नै स्वार्थ मात्र हेरि
मिलाइएन काँध नै हो ।


रंगीचंगी फुलेका छन्
प्रकृतिमा फूलहरू
मिलेर नै हाँस्ने गर्छन्
छैन त्यहाँ भूलहरू ।


आशा मात्र राखेका हौँ
कर्तव्यलाई बिर्स्या छैनौँ
तिमी आँट, हामी साथ छौँ
पछाडि त फक्य्रा छैनौँ ।


मन छ नि त एउटा हाम्रो
मानवता लिई बाँच्ने
मान्छेले नै आँटे सक्छन्
समानताको सपना साँच्ने ।


प्रेम पनि फुल्ने गर्छन्
श्रम र पसिना खुल्ने गर्छन्
विचारका गोडमेलले नै
अन्नपात झुल्ने गर्छन् ।

सातदोबाटो,
ललितपुर, नेपाल