१)
ढिलो चाँडो होला सकभर आउन सक्छ
मेरो पनि स्वर्गजाने अवसर आउन सक्छ

टिभी रेडियो नसुने गजल पढ्दै बस प्रिय
समाचारमा म मरेको खबर आउन सक्छ

चर्केको घाउ कहिल्यै नदेखाउनुस् महोदय
मलम भन्दै आफ्नैबाट जहर आउन सक्छ

फूलको प्रहार सहन नसकी ढुङ्गा बनेको हुँ
गुलाब दिँदा जवाफमा पत्थर आउन सक्छ।

२)
एक्कैछिन रोकिन नसक्ने जिद्दी बानी देखेर
अचम्मित छु यो समयको मनोमानी देखेर

लाश सरी सुतेको देखेर काल पनि हेर्छ जान्छ
उसलाई बोझलाग्दो हो मेरो जिन्दगानी देखेर

कुनै चीजको मोल छैन कस्तो व्यापार हो यो
मानवता नै बेच्दिने सामु सुन्दर जवानी देखेर

जीवन अभावले भरिपूर्ण छ कसलाई के भनौं
मौन छु आफ्नै घरमा दुःखको खानी देखेर

यहाँ मिठो निद्रा अनि सपना अमूल्य हुन्छ
मूर्खहरू आपसमा लडिरहे महँगो सिरानी देखेर।

३)
दर्द, पीडा छ लुकेर आँखामा बस्छ
मुस्कानको पंक्षी दिलको हाँगामा बस्छ

तिम्रो भाउ बढ्छ जब जुवाको झैँ गरी
शत्रु मलाई खसाल्ने योजनामा बस्छ

विश्वास गरेर जो कसैलाई मित्र नठान्नू
सम्बन्ध अचेल रुपियाँ, पैसामा बस्छ

दुनियाँलाई वाह हुन्छ अलग कुरा हो
तर नमिठो अतित मेरो कवितामा बस्छ ।