आजभोलि संघ र प्रदेशसभा दुवैमा मोल बढाबढ छ
जखमले कैदी उम्मेदवारको अझ मोलतोल बढाबढ छ
समाजवादी र प्रगतिशील राजनीति पाखा लाग्दै जाँदा
अब ट्र्म्प, मोदी जस्ता दक्षिणी वायुको रोल बढाबढ छ ।


कहिले डाक्टरले पेटमा कैँची बिर्सने, यस्तै छ देशको हाल
कहिले पाइलटले जहाजको सिस्टम बिर्सने, यस्तै छ देशको चाल,
हरेकपल्ट संघीय संसदमा जनप्रिय विधेयक पेश गराउँदा
बिर्सदै गर्छ सरकार, सरोकारवाला जनताको जायज सवाल ।


मानौं फुर्सद लुगामा परेको जुम्राजस्तै छ
कहिले यता टोक्छ, कहिले उता ऊ मस्तै छ
मैले आँ गर्दा, तिमीले अलंकार नबुझेपछि
मेरो माया फुट्पाथको पसल भन्दा सस्तै छ ।


तिम्रो प्रत्येक खबरमा, एउटा विश्वास सँगाल्नु छ
एउटा दह्रो विश्वासमा, सच्चा मित्रता अँगाल्नु छ
चाहिएको बेला थपडी मार्न जानेको छु मैले पनि
नफल्ने वन तरुल नसम्झ, तिम्रो दिल पगाल्नु छ ।


ढाँटेको कुरा र फाटेको लुगाले, इज्जत नबेरिने रहेछ
समयले हद पार गरेपछि, लाज शरम नभेटिने रहेछ
नीति निर्मातामा जनताको जनविश्वास हार्दै जाँदा
भन्सारबाट सुनको हात्ती छिरेको पनि नदेखिने रहेछ ।


खै कोही किन बिर्सन खोजे पनि सम्झनामा आउँछ
खै कोही किन नचाहे पनि घरीघरी विपनामा धाउँछ
धनको धाक लाउने आफ्नाहरू भन्दा त मेरो हजूर
मेरो हालखबर सोध्ने पराइले खास नजर पाउँछ ।


ठुल्दाइ तिम्रो घुर्की खुब सुनियो
पाए भरौटे बनाउने कुरा बुझियो
भाडाका सिपाही हुनु छैन अब
तिम्रो अग्नि भर्तीको मर्म गुनियो ।


दूर क्षितिजतिर दुई प्यारा आँखा दौडाउँदै
सोच्दै छौ युवक, भविष्यको बाटो बनाउँदै
यो युग तिम्रै हो, सही बाटो बनाउन सके
अगाडि बढ समयको पदचाप समाउँदै ।


लजाई मसँग बोल्न कहिले अल्मल गर्छ्यौ
वरिपरि आई कहिले सलबल गर्छ्यौ
सँधै दलबल बाँधेर हिँड्ने तिमी
मेरो घरको संघार कहिले झलमल गर्छयौ ?

१०
मेरा दु:ख देख्दा तिमीलाई दया जाग्न सक्छ
मेरा यथार्थ भोगाई तिमीलाई कथा लाग्न सक्छ
प्रिय, दुखेको हृदयमा मलम कहिले लगाउँछ्यौ ?
हेर्दाहेर्दै यो जीवन नभेटने गरी भाग्न सक्छ ।

सानेपा, ललितपुर