गजल १
जीवन सरल छ भन्नुभयो त्यति सरल हुँदैन
महलको जुत्ता होला झुपडीको चप्पल हुँदैन
मेरा हारहरूमा ताली पिट्न अभ्यस्त हुनुभएछ
महोदय बुझ्नुस् सबै ताली पनि सफल हुँदैन
तिमी झुट बोल्न पनि एक दिवस मनाउँछौ
म गाउँको मान्छे झुट बोल्ने अड्कल हुँदैन
च्यातिएला या फाटिजाला सम्बन्ध किन सोच्छौ
प्रिय म प्रेमी हुँ मेरो प्यार त्यति कमसल हुँदैन
हे ईश्वर सबैलाई दुःखको खाडलमा नफाल
हिलोमै पनि फुल्न सक्ने जोकोही कमल हुँदैन ।
गजल २
ठेगान सोध्यौ साथी खै कुन ठेगानको हुनुपर्छ
बच्चामा देशको भैयो अब मुग्लानको हुनुपर्छ
बाँचुञ्जेलसम्म हो तिम्रो लागि मरिहत्ते गरेको
प्रिय मरेपछि त हरकोही भगवानको हुनुपर्छ
मध्यरातमा एक प्रेमी मायाको छाया खोज्दैछ रे
यो खबर एक कान दुई कान मैदानको हुनुपर्छ
एकअर्काको अस्तित्व नस्विकारी कसरी हुन्छ ?
घामलाई पनि त झुल्किन बिहानको हुनुपर्छ
तिमी नै हौ हाँस्न नसक्ने गरी रुवाएर जाने
तिमी नै भन्दैछौ जिन्दगी मुस्कानको हुनुपर्छ ।
ठेगानाः मादी ८, कास्की



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ माघ २०८२, बिहीबार 






