गजल १
जीवन सरल छ भन्नुभयो त्यति सरल हुँदैन
महलको जुत्ता होला झुपडीको चप्पल हुँदैन

मेरा हारहरूमा ताली पिट्न अभ्यस्त हुनुभएछ
महोदय बुझ्नुस् सबै ताली पनि सफल हुँदैन

तिमी झुट बोल्न पनि एक दिवस मनाउँछौ
म गाउँको मान्छे झुट बोल्ने अड्कल हुँदैन

च्यातिएला या फाटिजाला सम्बन्ध किन सोच्छौ
प्रिय म प्रेमी हुँ मेरो प्यार त्यति कमसल हुँदैन

हे ईश्वर सबैलाई दुःखको खाडलमा नफाल
हिलोमै पनि फुल्न सक्ने जोकोही कमल हुँदैन ।

गजल २
ठेगान सोध्यौ साथी खै कुन ठेगानको हुनुपर्छ
बच्चामा देशको भैयो अब मुग्लानको हुनुपर्छ

बाँचुञ्जेलसम्म हो तिम्रो लागि मरिहत्ते गरेको
प्रिय मरेपछि त हरकोही भगवानको हुनुपर्छ

मध्यरातमा एक प्रेमी मायाको छाया खोज्दैछ रे
यो खबर एक कान दुई कान मैदानको हुनुपर्छ

एकअर्काको अस्तित्व नस्विकारी कसरी हुन्छ ?
घामलाई पनि त झुल्किन बिहानको हुनुपर्छ

तिमी नै हौ हाँस्न नसक्ने गरी रुवाएर जाने
तिमी नै भन्दैछौ जिन्दगी मुस्कानको हुनुपर्छ ।

ठेगानाः मादी ८, कास्की