पैसा सकियो सम्बन्ध सकियो पहिचान सकियो
हालचाल सकियो सम्बोधन सकियो आदर सकियो

हिजो युवा समाज सेवी, बौद्धिक, सरल व्यक्ति भनेर बोलाउनेले
आज बाटोमा भेट्दा दोहोरो बोलचाल, खबर साटासाट सकियो

प्रेमिकासँगको दैनिक वार्तालाप बानी नै थियो हाम्रो
फोनको अन्तिममा सधै सुनिने आई लब यु सकियो

धेरैपछि साथी आपसी मित्रताको बखान गर्न आएको थियो
चियासम्म नमिलेपछि हाम्रो वार्तालाप मिनेटमै सकियो

सामाजिक संस्थालाई के रकम चन्दा रोकेको थिएँ
फोन सकियो चिठी सकियो निमन्त्रणा सकियो

तरकारी किन्ने पसलमा ऊ मलाई देख्दा हर्षित हुन्थ्यो पहिले
आज मुस्कान सकियो, टमाटर सकियो, धनियाँ सकियो

सधैँ बोराका बोरा रासन घरै आइपुग्थ्यो गाडीमा पहिले
आज भकारी सकियो मुसा सकियो घुन सकियो

छिमेकी शितल ताप्ने बहानामा टुप्लुकिन्थे हर साँझ
शितलता सकियो आहत सकियो चैन सकियो

ठुलो परिवारमा जन्मेको हुर्केको हामी अविरल प्यारसहित
अङ्कल सकियो, देवर सकियो, हजुर बा, आमा सकियो

सपनाले निदाउन नदिएर म विदेशिएको कुमार केटो
पसिना सकियो, आँशु सकियो, मेरो जवानी सकियो

पैसा सकियो सम्बन्ध सकियो पहिचान सकियो
हालचाल सकियो सम्बोधन सकियो आदर सकियो ।

पेरिस, फ्रान्स