भो छट्पटीमा अनिँदो रहेका रात नदेखाउनु

साथ टुट्न सक्छ सम्बन्धको खात नदेखाउनु

 

आफ्नो सुखभन्दा अरूको दुखमा रम्छ मान्छे

भाग्य पनि चोरी हुनसक्छ सौगात नदेखाउनु

 

फुल्न नपाउँदै चुँडिँदै जान्छन् कोपिलाहरू

डाँठ कुहिएर झर्दै गरेका पात नदेखाउनु

 

फुल्छ फल्छ सबैको अवश्य कुहिन्छ जिन्दगी

झर्नु पर्छ एकदिन कसैले औकात नदेखाउनु

 

चाहेर मात्र हुन्नन् पूरा कतिपय सपनाहरू यहाँ

नपाउने कुरामा रहर अनि चाहत नदेखाउनु ।