ऊ ट्याक्सी ड्राइभर पो हो प्लेन उडाउन सक्दैन
वडाको बजेटले क्रिकेट रंगशाला बनाउन सक्दैन
त्यो त सब चुनाव जित्न भनेको हो याद राख्नुस्,
गधाले त भारी पो बोक्ने हो गीत गाउन सक्दैन


भुँडी फुट्ने गरी खाइसक्यो अझै चाखेको छैन भन्छ
खल्तीमा हालिसक्यो मैले हात नै लाएको छैन भन्छ
न त कसैले चोर भनेको छ न त उसलाई सोधेको छ,
जो चोर हो ठूलो स्वरमा आफैँ मैले चोरेको छैन भन्छ


झुटो बोलेर भोट किनेको रहेछ अब के विकास हुन्छ
उन्नाइस लाख खर्च भएको रहेछ अब के विकास हुन्छ
वडा अध्यक्षको उम्मेदवार हुँदा नै प्रति व्यक्तिलाई,
एक एक हजार बाँडेको रहेछ अब के विकास हुन्छ


जनता सुखी र समृद्ध नेपालको नारा कता गएछ
जताततै चोर, दलाल, ठगहरूले पाइला टेकेछ
आफू, कार्यकर्ता सबै झोले कहाँ भाग पुग्नै पर्ने
भ्रष्टाचारीको भुँडी पनि पानीटङ्की जस्तै हुने रहेछ !

सुदूरपश्चिम, बैतडी