यति खराब लेख्न मन छ

मन्दिरमा शराब बेच्न मन छ

भक्त बनुम यसरी कि

मूर्ति जलाएर तनाब मेट्न मन छ

….

मनलाई भलाकुसारी गर्नु थियो

भित्ताहरूको भाषा सिक्यो उसले

अनि रङ्गहरू फेरिन थाले

खोज्यो अनि काख-बिछ्यौना

सङ्गमरमरको आशा लियो उसले

अनि अङ्गहरू बेरिन थाले.

….

मायाको कुरामा म जिरो

फूलबाट पातसरी टुक्रिन्छु

तिम्रो माया जिब्रोमा पिरो

माया म रातभरि उफ्रिन्छु

….

पाप केही गरिनँ जमानामा

तर आत्मा कहिल्यै शुद्ध भएन

तिम्रो मायाले नै हो प्रिय

यो मान्छे कहिल्यै बुद्ध भएन

….

तिम्रो माया मधेसको गर्मी

पसिना पसिना हुन्छु म

तिम्रो अङ्गालो हिमालको धर्ती

असिना-असिना हुन्छु म

….

डरको पाठ पढाउने विद्यालयहरूमा

हिम्मतलाई राख बनाउने गुरुवर्गमा

अस्मितामा दाग लगाउने मिथ्यालयहरूमा

कुलतको पाप चढाउने कुरुस्वर्गमा

कागज रह्यो ज्ञान रहेन

धैर्य रह्यो ध्यान रहेन

जहाँ सुनुवाइ हुन्छ, त्यहाँ कान छैन

सत्यको मूर्ति छ, बोलीमा राम छैन

….

लेख्न पाउँछु र त जीवन छ

नत्र त नियमले उहिल्यै ‘सास छोड्’ भन्थ्यो

….

न छोरा मान्छेलाई रुन दिन्छ

न छोरी मान्छेलाई हाँस्न दिन्छ

पितृ अहम्ता समाज

न छोरा मान्छेलाई मर्न दिन्छ

न छोरी मान्छेलाई बाँच्न दिन्छ

….

हरियो रङ्गको मेहेदी

जसरी जमेर रातो रङ्ग बन्छ

त्यसरी नै रातो रगत

जमेर हरियो रङ्ग बन्छ

जीवनको अर्थ यही नै हो

….

एक पलमा अन्त्य लेख्नु छ

एक झलकमा अन्त्य देख्नु छ

एक अङ्कमा अन्त्य गन्नु छ

पहिले पानामै अन्त्य बन्नु छ

….

तिमीबाट भाग्ने होडबाजीमा

आज दुनियाँ डुलिसकें

तिमीलाई बिर्सिने चलाखीमा

यहाँ दुनिया भुलिसकें

….

(बालेनको कवितासंग्रह ‘अश्र’बाट)