माधव पोखरेल गोज्याङ्ग्रे

कोशी प्रदेशको संयोजक: माधव पोखरेल गोज्याङ्ग्रे

परतन्त्र

जीवनहरि शर्मा

छन्द:तिलका

जीवनहरि शर्मा

मान्छेहरू नरकमा किन जान खोज्छन् रोज्छन् सधैँ रिस र राग घमण्ड गर्छन्
जिब्रो प्रसन्न रसमा खुस साथ बस्ने फेरिन्छ फेरि तर दाँत अवस्य झर्छन्
गर्दैछ नक्कल सधैँ परतन्त्र बोकी चिन्दैन जो घर तथा परिवार मोती
पाइन्न सत्य पर खोज कतै रह्यो की खुल्दैन त्यो हृदय वा मनभित्र ज्योति । १

संसार चिन्न हिँडियो कति दूर जाने गर्दैछ स्वाद त्यसले कुन खाद्य खाने
आत्मा छ पत्थर तथा मन त्यो फलामे मान्छे सकिन्छ सजिलै परतन्त्र माने
बुझ्दैछभित्र गहिरो तलसम्म पुग्ला सोचेर मात्र बसिए व्यवहार डुब्ला
बोल्दैन जो हृदयमा कस नित्य राख्ला टोक्दैन स्वान तर झन् कसिएर भुक्ला । २

जो सत्य बुझ्छ रसझैँ अनि स्वाद पायो सन्तुष्ट हुन्छ त्यसले रविझैँ उदायो
फोहोर बोक्छ मनमा दिल क्रूर पार्यो आफन्त जो छ बिनसित्ति सधैँ बिगार्यो
सादा बनेर घरको पिर बुझ्न सक्ने गल्ती भए सहजले शिरदेखि झुक्ने
मान्छे त्यहीँ असल हो गरिमा छ पुज्ने चातुर्यता छ त्यसमा परतन्त्र बुझ्ने । ३

सम्मान नै सुख ठुलो पहिचान मेरो आफ्नै बुता र महिमा अति नै पियारो
बिस्र्यो धरातल सबै नभ मात्र हेर्यो बोक्ने छ भार परको थपियो चटारो
उच्चो छ मानसिकता बल शक्ति हो त्यो सर्वोच्च मानव हुने नर आज को हो ?
गर्दैछ प्रश्न जनले शुभलाभ जे हो झुक्ने छ यो शिर सधैँ परतन्त्र गाह्रो । ४

खाएर मस्त बनिए पशुझैँ भयो की भाँडो फुट्यो अमृत त्यो र कतै चुह्यो की ?
टाढा छ दृष्टि जसको बसुधा थियो की टालेर रोक चुहिने बुझ है खियोकी ?
आकाशको गरुडझैँ बनिएर बस्ने को बन्छ सर्प ननिको जन माथि डस्ने
लाचार त्यो मनुज हो र बुझेर चुक्ने निर्लज्ज नग्न कडुवा परतन्त्र खप्ने । ५

इलाम

भित्र पसेपछि बन्छ कडा

हरिप्रसाद रिमाल
छन्द: मदिरा महिमा

हरिप्रसाद रिमाल

छन्द मिल्यो तर शब्द सजावट अल्मलियो कि फुरेन भनौँ
शोच विचार गरी अझ सुन्दर लेख्न जुटौँ कटिलो नभनौँ
हेर सबैतिर छन् कविता रस कविका चुस्न सिकौँ अनि शिष्ट बनौँ
ध्यान दिए पछि हुन्छ परिस्कृत लेख्न तयार बनौँ न भनौँ।१

प्रेम गरौँ सबले मदिरासित गायन योग्य बनुन् कविता
होस् रस काव्यमिठास बगी श्रुतिसौरभ हुन् दिलदीप सदा
नन्दनमा जति हर्ष दिलाउँछ भित्र पसेपछि बन्छ कडा
क्लेश पखाल्दछ ज्ञान पिलाउँछ सेवक झैँ दिनरात खडा।२

सुन्दर शब्द सजावट कोमल भाव त्यहाँ धुरिए अझ यो
बन्छ सुधायुक्त काव्य रसात्मक पान गरे पछि हुन्छ दिगो
उच्च हिमाल समान भए पछि बग्दछ पाठकका मनमा
घुम्दछ नित्य नसा धमनीतिर पार्दछ पूत नवीनतम।३

ओैषध हो मदिरा सबको प्रिय होइन यो कुहिने मदिरा
पुग्दछ है मधुझैँ मुटुमा तब बन्दछ तीर्थ समान धुरा
बन्दछ मान सरोवर यो अनि बग्छ नसातिर नाद गरी
बिर्सन सक्दछ को मदिरा दिल शान्त बनाउँछ हुन्छ परी।४

बाइस अक्षर छन् यसमा सुरुमा गुरु हुन्छ र ह्रस्व दुई
लौ गन ह्रस्व र दीर्घ थपे बनियो लय छन्द विशिष्ट सुई
ज्ञेय विधा जगको गहना सम निर्मित शिर्षतिरै छ कुटी
द्वार खुला छ सदैव सजावट सुन्दर रूप छ लाग्छ बुटी।५

लेख्न खटौँ रसिलो रस नायक छन्द यहीँ सबको मदिरा
उत्सुक पार्दछ चिन्तन खार्दछ जाँगरले मनका पिपिरा
नैतिक सात्विक वीर भयानक अद्भुत शान्त सबै रसमा
हास्य रुचाउँछ सोच्न सिकाउँछ मादल तालसँगै करुण।६

 

युवा हुन् धराका महान् कर्णधार

मुक्ति पोखरेल

भुजङ्गप्रयात छन्दमा

मुक्तिनाथ पोखरेल

युवा चेतना छर्दछन् यो धरामा
पुगी गाउँका खोँच वा कन्दरामा
यिनै लाउँछन् दुस्ख सङ्कष्ट पार
युवा हुन् धराका महान् कर्णधार ।१

युवाले चिताए सबै बन्छ काम
कहाँ पर्दथ्यो देश छाडेर जान
निजाङ्ग्रे युवाको छँदै छैन सार
युवा हुन् धराका महान् कर्णधार ।२

परे देशमा कष्ट आपत्ति भारी
यिनै बन्दछन् लड्नलाई तयारी
यिनै गर्दछन् शत्रुलाई प्रहार
युवा हुन् धराका महान् कर्णधार ।३

कतै रोकिने छैन सच्चा सहास
परे फोर्न सक्ने अनेकौँ पहाड
जिती देश वैरी बनाएर हार
युवा हुन् धराका महान् कर्णधार ।४

भयो देश रित्तो युवा छैन कोही
सहारा विना वृद्ध रुन्छन् कराई
नजाऊन् उता देशमा पर्छ भार
युवा हुन् धराका महान् कर्णधार ।५

हटाएर मैलो सफा देश पारी
अहङ्कार शेखी भएका निखारी
सबै फाल्न सक्छन् रहेको निखार
युवा हुन् धराका महान् कर्णधार ।६

 

अपेक्षा

दीनानाथ पोख्रेल

दीनानाथ पोख्रेल

युगमार्ग चिनीकन बढ्नुछ उठ्नुछ ज्ञान खिपी
हितकर्म तिखार्नुछ भोक बढार्नुछ प्राप्ति टिपी
सुख हार जमोस् मन नित्य रमोस् घर स्वर्ग बनोस्
गति तीव्र बढोस् हितमार्ग खनोस् भव दिव्य गनोस् ।

मन चञ्चलता सब दूर गरूँ कृत योग्य छरूँ
पद शैल चढू्न् दृढ शक्ति छरून् निज चेत भरूँ
मन देश चिनोस् बह कष्ट छिनोस् भव भाव भरूँ
मन चञ्चल भै भय छुल्छुल पार्दछ दूर गरूँ ।

पथ योग्य खने फल वाञ्छित फल्दछ प्राप्ति निको
सुख बस्दछ साथ खुलीकन तान्दछ कर्म डिको
युग ज्ञान टिपेपछि कर्म रमाउँछ जम्छ हरियो
शुभमार्ग खनेर हिँडाउन गाड्नुछ एक मियो ।

सबसाथ उठे कृत योग्य टिपे घर रम्छ सधैँ
सुख हार गुथीकन यो मन उठ्दछ हर्षसँगै
उठ जाग युवा बह पार्न धुलो सुख मिल्छ अरे
मन सागरतुल्य बनीकन सौख्य बटुल्छ भरे ।

मन सौख्य उमार्न र रम्न सधैँ बल गर्छ खटी
अनि प्राप्ति गुमेपछि हर्ष डरीकन हुन्छ खती
घर साँझ पसेपछि मार्ग सही गम योग्य कला
फल फल्छ मिठो सुर खोल्छ डटीकन नित्य गला ।

बढ मानव मार्ग खनीकन जम्नुछ यो भवमा
यति चेत रहोस् सुख मिल्छ मिठो मनको सबमा
फल टिप्न मिठो गर कर्म निको हित हुन्छ जहीँ
शुभकर्म छुटे सुखसाथ टुटे हित हुन्न कहीँ ।

मन दर्द हटून् घर हर्ष बढून् सुख मिल्छ मिठो
फल हात टिपून् घर पूर्ण छिरून् बह हुन्छ पिठो
घर भोक पसे सुख दूर हटे मन दुख्दछ यो
उठ कर्म टिपी कृत हार खिपी फल बाँड्दछ यो।

इलाम

त्यो जुरेली चरीको

भवानी खतिवडा
छन्द:मन्दाक्रान्ता

भवानी खतिवडा

डाली डाली चिरबिर गरी भुर्भुराई डुलेको
खोजी गर्दै जल र कनिका आँगनीमा भुलेको
क्वैली बोल्दा मृलुलयसँगै तालमा रौसिएको
देखे मैले अभिनव कला त्यो जुरेली चरीको ।

छर्दै आए रवि किरणले शीतमा स्वर्ण रङ्ग
उठ्छन् मेरा पनि हृदयमा कल्पनाका तरङ्ग
कल्पेँ मीठो सुर मधुरिमा प्रीतिको बाँसुरीको
नौलो जादू प्रकटित हुँदा त्यो जुरेली चरीको ।

यो स्वच्छन्दी प्रिय पवनले स्पर्श गर्दा मलाई
उर्ली आयो प्रणय सरिता चित्तमा छङ्छङाई
झल्को आयो अझ रहरिलो प्रीत पोख्ने झरीको
हेर्दा हेर्दै अनुपम कला त्यो जुरेली चरीको ।

नाँच्छे आफ्ना रहर बटुली स्वच्छ राखेर चाख
हुन्छे आल्हादित प्रकृतिको टेक्न पाएर काख
डाँफे मैना ढुकुर र सुगा कोकले गौथलीको
साँटूमाया हृदयभरिको त्यो जुरेली चरीको ।

केले डुल्छे नयन वनका फूलमा पालुवामा
कैले गर्छे रहर मनका खोंचका बालुवामा
यी आँखा नै झलमल हुने श्रृङ्खला जिन्दगीको
देंखे यस्तै समय सुखको त्यो जुरेली चरीको ।

 

महत्वा

उद्धव घिमिरे
छन्द:भुजङ्गप्रयात

उद्धव घिमिरे

यहाँ चेतनाले घुमाएर मुन्टो
सहारा दिलाओस् उघारेर घुम्टो
फुलुन् फूल बेली चमेली रमाई
यिनै फूल चुम्दै बसौकी समाई।

मलाई छ चिन्ता यिनै लेक बेसी
झनै लाग्छ माया पहाडी मधेसी
सहारा विनाका बुढन्ती पुगेका
दया लाग्छ आफ्ना छिमेकी गुमेका।

गए देश छोडी भए शुन्य जोडी
बसे बिर्सिएरै उतै मोज भोगी
न आमा यहाँ छिन् यहाँ छैन बाउ
सुसस्कार के भो उतैको छ भाउ।

यहाँ देश रोए न चिन्ता यहाँको
यहाँ भेष मर्दा मलामी त्यहाँको
यहाँ गाउँ रित्तो उताकै बजार
महत्वा उतैको हजारौं हजार।

कालो खरानी घसी

माधव पोखरेल गोज्याङ्ग्रे
छन्द:शार्दूलविक्रीडित

माधव पोखरेल गोज्याङ्ग्रे

भाटो हान्न सिपालु छौँ यदिभने नाँच्छौ तिमी शानले
आफ्नै हात लुकाउँदै वरिपरी घुम्दै गरे मानले
ढुङ्गा हान्न सिपालु छौ मुलुकको गर्दै रहें उन्नति
लामो हात गरेर लम्कन सके त्यस्तै रहोस् संगति ।

खुट्टा तान्न र पेंच दाउ कसिलो तिम्रो सदा ध्यानमा
बिर्को लाग्छ सधैँ तमास थरिको बेहाल छौ ज्ञानमा
गोरो छौ अति नै सुहाउँछ बडो कुर्ता र गम्छा पनि
आफू मात्र गजक्क शानसितले साथी बिकामे अनि ।

कालो रत्न सरी भएर जहिले यो देश हाक्छौ कति
अर्काको भरथेग मात्र जहिले आफू चलाखी अति
नेपाली इतिहासमा समयको कालो खरानी घसी
आयौँ आँगनमा तिमी जहरभै रातो पछ्रयौरा कसी ।

देखायौ सपना अनेक थरिका नाङ्गो सरी भै दियौ
लोभी दृष्टि छ साथ छैन गतिलो धम्की र लम्की गयौ
आत्मा रुन्छ उता बसे कहरमा पाल्नु छ नेता जति
गाह्रो बाँच्न छ साथ हात नहुँदा भागेर बस्नूँ कति ।४
साझा काम हुँदैन स्वाद कहिले मिष्ठान्न पाक्दैन हो
एक्लो ज्यान छ खान पान नमिठो घिच्दैन पच्दैन हो
बानी शासनमा छ आसन सँगै कुर्सी घुमाई दिने
सत्ता हात लिएर शासक बनी सारा रुवाई दिने

नेता नीति विहीन देश भरिका खोक्रो छ आत्मा यता
हावामा उडने कसिङ्गर सरी फालिन्छ दैलो जता
हाम्रो आँगनमा छ फोहर धुलो मैलो छ भण्डारमा
दैलोभित्र छ प्वाल टाल्न नहुने कालो छ संघारमा ।

१. कोशी प्रदेश – माधव पोख्रेल
२. मधेश प्रदेश – सरू बस्नेत
३. वाग्मती प्रदेश – जानुका गुरागाईं
४. गण्डकी प्रदेश –रमा खतिवडा
५. लुम्बिनी प्रदेश –स्वर्ण शिखा
६. कर्णाली प्रदेश –जागेश्वर नेपाल
७. सुदूरपश्चिम प्रदेश–कपिलकिशोर घिमिरे
८.मुलुकबाहिर – प्रभा पोखरेल “फूल”

सप्तरङ्गी छन्दमालामा प्रकाशनार्थ इमेलः
chhandamalasahityapost@gmail