तिमी जूनझैँ उदायौ अलमस्त खिलखिलायौ
सपनामै खुशी थिएँ बेकार झकझकायौ

अनजानको अँध्यारो चिनजानले भुलायो
मधुमासको उज्यालो अनुरागले खुलायो
छातीमा राज गर्ने अभिमान डगमगायौ
सपनामै खुशी थिएँ बेकार झकझकायौ

उदास आँखाभित्र के-के थुनेँ अचानक
हताश कल्पनामा के-के बुनेँ अचानक
काँडासरि बिरानमा बनी फूल मगमगायौ
सपनामै खुशी थिएँ बेकार झकझकायौ

डुबिसकेथेँ सायद आँखाको पानीभित्र
थुनिसकेथेँ सायद विश्वास नानीभित्र
भोलिको दैलो खोली उल्लास छलछलायौ
सपनामै खुशी थिएँ बेकार झकझकायौ

तिमी जूनझैँ उदायौ अलमस्त खिलखिलायौ
सपनामै खुशी थिएँ बेकार झकझकायौ ।
०००००

हरिसिद्धि