१.
कसैलाई रूवाएर कसैलाई हँसाउने चलन हुँदोरहेछ
छाड्नेहरू रमाइरहँदा, छुट्नेलाई जलन हुँदोरहेछ
भन्‍न त हामी आफैँ चलाउँछौँ भन्छन् सत्ताधारीहरू तर,
कहिले उत्तरबाट त कहिले दक्षिणबाट सञ्‍चालन हुँदोरहेछ
निकै तामझाम थियो हाकिमको, अख्तियारले समाते छ हालै
अधिकारप्राप्‍त व्यक्तिबाटै अधिकारको अपचलन हुँदोरहेछ
कोही बस्छु भन्दैन स्वदेशमा, सबै विदेशिनै चाहने
राजनीति विकृत भएपछि, जनतामा विचलन हुँदोरहेछ
उता पार्टी चल्दैथियो, यता बच्चा सुताउँदै थिइन् आमा
कसैको खुशीमा यहाँ अरू कसैको खुशी हनन् हुँदोरहेछ
२.
के मान्छेको सफलता जोगाउन कठिन हुन्छ ?
हुन्छ बाबु, मन्त्री पनि कहिले भूमिकाविहीन हुन्छ
अनाज बेचेर ऊ, क्याल्सियम किन्दैथियो शहरमा
कसैले भनिदेओ, कोदो र फापरमा पनि भिटामिन हुन्छ
बाँच्नेहरू हो नहुन सक्छ, तिमीहरूको कत्ति पनि
मर्नेहरूको छ फिट गहिरो भए पनि जमिन हुन्छ
सक्दैनौ तिमी मेरो उचाइ जति नै छुन खोजे पनि
आखिर राजाजरूकै सन्तान राजगद्दीमा आसीन हुन्छ
म आफैँमात्र हो मेरो सफलतामा रमाउने, खुशी हुने
मेरो सफलतामा त छिमेकीको अनुहार मलीन हुन्छ ।