गद्य कविता: अखण्ड ज्योति !

ताराप्रसाद चापागाईँ
रहस्यमयी
ब्रम्हाण्डमा
एउटा रहस्य
म हुँ !
सृष्टिकर्ताले
कुनै भूमिका
आवश्यक देख्यो
अनि मलाई छान्यो
अनेक जीवात्मा छोडेर
मानव बनाएर
धर्तीमा पठायो
म को हुँ?
किन यहाँ छु ?
मेरा भूमिका
के के हुन् ?
त्यो त
परमेश्वररूपी
डाइरेक्टरलाई थाहा होला !
अब
मैले यो दुनियाँमा
आफ्नो भूमिका खोज्नु छ
म को हुँ बुझ्नु छ
म भित्रको
मानवता चिन्नु छ
अनि मैले कसैको लागि
केही गर्नु छ
आफूभित्रको
अखण्ड ज्योति बालेर
जम्मै अँध्यारो हटाएर
सारा जगत्
उज्ज्वलित पार्नु छ
अन्धकारलाई जित्नु छ
निकालेर प्रगाढ अखण्ड ज्योति !!
▪️ताराप्रसाद चापागाईँ
धुनिबेसी
<><><><><><\/><><><><><>
कविता: अखण्ड ज्योति !

अन्जना न्यौपाने
बा भन्नुहुन्थ्यो
अँध्यारो कालो
निष्पट्ट रातमा
समृध्द
र सुखी जीवनको
कल्पनाको गान्धी
हरेक क्षणको
एक ध्यान
प्रेमको सिमानामा
धिप्धिपाएको विश्वास
उद्देश्यका
उडनखटोलामा हुँइकिइरहेको
निर्वाध,
निष्कलङ्कित
आत्मविश्वास
चन्द्रमाको रोशनी
समुद्रको किनार
प्रेमको अनन्तता
नाताको शक्ति
जीवनको
पक्का भोगाइ हो
अखण्ड ज्योति !
जसले निभ्न जानेन
बरु थोरै वर्तनले
झिल्मिल बनिरह्यो
एकताको अभिव्यक्ति
र समृध्दिको प्रतीक बनेर
अखण्ड ज्योति !
ठिङ्ग उभिँदा
कयौँ आँधिहुरीले मर्काएर
अस्तित्व मेटाउन नखोजेका होइनन्
जिँउदो आस्थाले
कैयौँपटक मरेर
बाँचेको अनुभूति गर्दा
अस्तित्वमाथि
सुनामीको छालले
धावा बोलेकै हो
मनभित्र
तँ छाड
म छाँड गरेर
निर्णयहरू कुस्ती खेल्दा
मस्तिष्कले
एकपटक हारौँ कि भनेर सोध्यो
तर
अन्तरचेतनाले
जगाएको विश्वास
सङ्घर्षपछिको
सफलताले दिएको
आत्मसन्तुष्टि
र भोको पेट भरिदाको
आनन्दानुभूति
अखण्ड ज्योतिजस्तै हुन्
जीवनपर्यन्त चम्किरहन्छन्
बलिरहन्छन्
अखण्ड ज्योति !!
▪️अन्जना न्यौपाने
अमेरिका
<><><><><><\/><><><><><>
कविता: अखण्ड ज्योति !

प्रेम थापा ‘मन’
परापूर्वकालदेखि
चराचर जगत्भर
सहारादायक बनेर
निरन्तर
अनि अथक
सेवामा तल्लीन
विविध कार्यलाई
सम्पन्न तुल्याउने
मानव
अनि मानवेत्तर
सबैमा एक ज्वलन्त
उपहारको खानी
प्रज्वलनको दुनियाँमा
राज गर्दै
पृथ्वी
धरातललाई
निरन्तर ज्योति छर्ने
शक्तिवान् तिमी
अखण्ड ज्योतिलाई
मुख्य भगवान्
ठानेको छु
ठान्नेछु
तिम्रो ज्योतिलाई
फैलाउने छौ
हामीलाई आभास हुने
बिहानीको झुल्काइ
तर तिमी !
अथक् हौ
तिमी सर्वशक्तिमान
विश्राम नलिने
चराचर जगत्भर
तिमीलाई छेक्ने
कैयौँ बाधाहरू हुँदा
मानिसमा
अनि प्राणी
र वनस्पतिमा
अत्यन्तै अपुगको
अनुभूत हुन्छ
ओइलाउने छन्
तिमीबिना
हरितकणहरू
पुकार गर्ने छन्
अन्तिम साससम्म
मिलन
र बिछोडको
परिभाषा बोकेर
ओइलाएका तृषित
पनहरूलाई
हरियाली थप्न
हाँसोको फोहरा ल्याउने
तब त्यही आधारलाई
ममतामा सँगाल्दै
हर समय
क्रियामा अडिग
तिमी!
सदैव
ज्योति छर्दै जाऊ
सबैको प्रिय बन
तिमी हौ
अदम्य साहस
तिम्रो सेवा
अझ प्रगाढ बन्दै जाओस्
कहिल्यै क्षीण नहोस्
अखण्ड ज्योति!
तिमी !
सदैव अखण्ड बन्नु
हामी सबैको
आह्वान छ
अखण्ड ज्योति !!
▪️प्रेम थापा “मन”
बागलुङ
<><><><><><\/><><><><><>
गद्य कविता: अखण्ड ज्योति !

रसज्ञ छहरा
अखण्डित
निरन्तर
लगातार
झिमिक्क
नगरी बलिरहने छ
बलिरहने छ
प्रकाश
वरिपरि जतासुकै
जहाँ जहाँ पुग्छ
यो जगत्
विश्वभरि
एकनास छरिरहने छ
छरिरहने छ
अखण्ड ज्योति !
एक निमेष
तलमाथि परे
ढिलोचाँडो भए
यहाँ ठुलो
आँधी
सुनामी आउन सक्छ
सबै तहसनहस
ध्वस्त पार्न सक्छ
अन्धकारमय
संसार
विश्व हुन्छ
सबै जीव
जीवाणु जीवाश्म
जीवजन्तु
पशुपन्छी
सबैलाई मार्ग
दृष्टि हराउँछ
यसर्थ
अखण्ड ज्योति बलिरहन्छ
बलिरहनु पर्छ
अखण्ड ज्योति !
यहाँ बाल्नु पर्ने भएको छ
यहाँ मै हुँ भन्ने
यो राज्य
मुलुक चलाउने
राज्य सञ्चालन गर्ने
शासक वर्ग
नेता नै
प्राय अन्धा भएका छन्
म नै ऐनकानुन हुँ
मैले जे गरे नि हुन्छ
अवैध व्यापार
लुटपाट
बलात्कार
भ्रष्टाचार भन्नेहरूका
मनमुटु
दिमागमा ज्ञानको
अखण्ड ज्योति बाल्नु छ
नयाँ युगको
सुरुवात गर्नु छ
अखण्ड ज्योति बाल्नु छ
ज्योति बाल्नु छ
अखण्ड !!
▪️रसज्ञ छहरा
<><><><><><\/><><><><><>
गद्य कविता: अखण्ड ज्योति

सीता शर्मा पन्थी
अखण्ड ज्योति !
एउटा मनको बलियो
धारा हो
जसले अन्धकार हटाउने
चम्किलो पाराको
काम गर्छ
असल चिन्तन
असल काम
प्रभुको
कृपा भएपछि मात्र
मनको मैला
अन्धकारलाई
हटाउन सकिन्छ
मानिसको खोज
अज्ञानताको बोध
मनबाट
निकालेर फाल्नु नै
वास्तवमा
अखण्ड ज्योति हो
अज्ञानरूपि
गुलामलाई हटाई
जीवन प्रकाशमय पार्दै अगाडि
बढ्न पाउनु नै
हो अखण्ड ज्योति !
उत्तम विचार लिएर
मनमा उत्साह भर्दै
सेवाभावमा समर्पित भई
आफ्नो दिव्यतालाई खोज्दै
अगाडि सर्दै
ज्ञानको सागरमा पौडिनु
र पार तर्नु
अखण्ड ज्योतिझैँ हो
हो अखण्ड ज्योति !!
▪️सीता शर्मा पन्थी
विरगन्ज पर्सा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ मंसिर २०८२, शनिबार 










