रमा खतिवडा

गण्डकी प्रदेश संयोजक: रमा खतिवडा

झण्डाले भुलेको मान्छे

यम रेग्मी

छन्दःउपजाति (इन्द्रवज्रा+उपेन्द्रवज्रा)
गणः त त ज गुरु गुरु
ज त ज गुरु गुरु
विश्रामः पाँच अक्षरमा

यम रेग्मी

जरा टुटेको हरियो छु साग
धोत्रो परेको सुकिलो छु साज
कपास भन्दा हलुको भएछु
के बढ्न खोज्थेँ ? खिइँदै गएछु ।

उन्मत्त बन्दै झुपडी थुकेथेँ
सम्बन्ध मेट्दै नभमा उडेथेँ
सरी मृतात्मा मन भाग्छ उड्दै
म लास जस्तै भुइँमा छु गल्दै ।

बर्खे हिलोको दहमा डुबेछु
उफ्रिन्छु भन्दा अझ भासिदिन्छु
खामो ढलेको घर पो भएछु
चोक्टा समेट्दा रसमा डुबेछु ।

आमा छुटेको वनको छु बाच्छो
नौलो बिरानो हुलमा छु एक्लो
के काम मस्ती दिलमा छ रात
छन् दृश्य राम्रा गह छन् उराठ ।

चाहिन्छ झाडी सतिसाल बन्न
चाहिन्छ जाली लहरा दगुर्छ
बर्षे छु बाली हिउँदो छ याम
यो नर्कभित्रै कसरी फुलू म ?

कुरा हुरीझैँ दिल भित्र चल्छ
सम्झिन्छु माटो गह यी बहन्छ
छु लास जस्तै घरको न घात
छु साँझ जस्तै दिनको न रात ।

जीवन

शिव त्रिपाठी

छन्दःउपजाति (इन्द्रवज्रा+उपेन्द्रवज्रा)
गणः त त ज गुरु गुरु
ज त ज गुरु गुरु
विश्रामः पाँच अक्षरमा

शिव त्रिपाठी

छल्केर बग्दै पछि उर्लिएर
चट्टानमा ठक्कर खान्छ हेर
बहन्छ यो शान्तिसँगै लिएर
जानेँ नदी जीवन हो भनेर

बोकी कतै आउँछ तीव्र आँधी
जाडो र गर्मी हिम वृष्टि भारी
हुनेछ यो दिव्य वसन्त जाने
यो जिन्दगी मौसम चक्र माने ।

हिँड्यो उकालो अनि फेरि झर्नु
जङ्घार खोला पनि पर्छ तर्नु
नआउने होइन सम्म फाँट
बाटो बुझेँ जीवन आजबाट ।

प्रचण्डको धूप छ मध्य भाग
छ रात ठण्डी अनि अन्धकार
आल्हादकारी छ बिहान सन्ध्या
यो छैन अर्कै दिनरात भन्दा ।

खोला भयो जीवन मार्ग जस्तो
यो देखियो है दिनरात जस्तो
बोकेर यो लक्षण मौसमी ती
सिकाउँदै जीवन-भोग रीति ।

पोखरा -२५, हेम्जा

पैसा

छविलाल आचार्य

छन्द:वसन्ततिलका
गण:त भ ज गु गु
विश्राम:आठ अक्षरमा

छविलाल आचार्य

पैसा न हो सुख र वैभवको मुहान
पैसा न हो मनुजको सब सान मान
पैसा भनेर पसिना दिन रात झारी
ठेला उठे कति फुटे छ उदाङ्ग बारी ।

पुग्छन् विदेशतक आसुँ बगाइ धारा
छोडेर नै घर छिमेक समाज सारा
मान्छे भयो धन मुखी धनमै छ सार
के उठ्न सक्छ भन लौ गतिलो विचर ।

पैसा भए तन र यो मन बिक्री हुन्छ
दर्बार हार गतिलो सुन सिक्री मिल्छ
नेता बने कति जना धनको कमाल
सिद्धान्त धार बिटुलो किन भो ? समाल ।

भोको छ पेट कतिको कतिले डकार्छन्
आफ्नो पराइ छ अझै कतिले हकार्छन्
पैसा हुँदा र नहुँदा किन भेद हो यो
पृथ्वी समान हक मिल्छ सबै जनाको ।

पैसा भनेर दुनियाँ किन गर्जदै छन्
साटेर इज्जतसँगै किन खर्चदै छन्
टारेर गर्ज सबले गुजरा चलाउन्
आनन्दले सब मिलेर चुलो जलाउन् ।

पोखरा -१६, कास्की

राष्ट्र र राष्ट्रियता

कल्पना अधिकारी भट्टराई

छन्द:मन्दाक्रान्ता
गण:म भ न त त गु गु
विश्राम: चौथो र दसौंमा

कल्पना अधिकारी भट्टराई

मेरो धर्ती मगमग हुने फूलको वाटिका हो
रङ्गीचङ्गी अनुपम छटा पस्किने नाटिका हो
चाँदीजस्ता शिरमुकुट छन् शृङ्खला बोट साल
जम्मै शोभा यस मुलुकमा गर्दछन् अंकमाल।

झर्ना ,खोला कलकल अहा ! नागबेली छ मेलो
तिर्खा मेट्ने शिखर झरना, ताल, पानी पँधेरो
डाँडा,पाखा,चउर,हरिया लेक, बेसी, तराई
राख्छिन् मेरी प्रकृति गहना कण्ठमाला बनाई।

भाका,भाषा,लय विविध छन्,जातिका भेष भिन्न
यौटै माला विविध रङको मेलले छन् अभिन्न
आआफ्नै साँस्कृतिक गरिमा,सान छन् स्वाभिमानी
यार्चागुम्बा,यति,जडिबुटी छन् यहाँ रत्न खानी।

डाँफे नाच्छन्, नवरङ छरी पङ्ख आफ्ना फिजाई
माया गाँस्छन् मधुर गहिरो प्रेमले मुस्कुराई
पाखा रातै ढकमक गरी फुल्छ लाली गुराँस
कस्तूरीको परिमल छरी डुल्छ मीठो बतास ।

आँखा लाग्छन् पर-मुलुकका दिव्य सौन्दर्य माथि
सत्ता हाँक्ने मुलुक अगुवा बस्तछन् मौन साँधी
भाँडोभैलो,कलुषित भयो भ्रष्ट बन्दा चरित्र
मेटे आफ्नो परिचय चिनो भाइचारा पवित्र।

तन्नेरीले यस मुलुकमा रोजगारी नपाई
थाले मुग्लानिन पिर लिँदै चित्त साह्रै दुखाई
छाती थाप्ला अब कुन युवा ? राष्ट्र झण्डा उचाली
राष्ट्रप्रेमी जन ! सब जुटौँ बन्न सम्पन्नशाली।

लमजुङ दुराडाँडा चारघरे
हाल:टोखा १०

कविता र कवि

वसन्त चालिसे

छन्द:अनुष्टुप
गण:चार पाउको पाँचौँ ह्रस्व र छैटौँ दीर्घ
पहिलो र तेस्रो पाउ – सातौँ दीर्घ
दोस्रो र चौथो पाउ- सातौँ ह्रस्व
विश्राम:आठ अक्षरमा

वसन्त चालिसे

समुन्नत हुँदैहुन्न लेखेर कविता कुनै
न दिन्छ राज्यले केही न दिन्छ सुविधा कुनै
स्वतन्त्र रूपले बाच्ने खोज्दैछौ कि तिमी कसो ?
यौटा अचम्मको प्राणी बाँचेको छ जसो तसो ।

चस्स चस्स मनै हुन्छ पढेर ती व्यथाहरू
मन्त्र मुग्ध यसै हुन्छ सुनेर ती कथाहरू
झुस्स दाडी कपालै छ नदेखिन्छ चिटिक्क त्यो
लोभ मोह कुनै छैन न जाली छ फिटिक्क त्यो ।

रस काव्य खुबौ लेख्छौ पगाल्दै सबको मन
झुम्म झुम्म यसै हुन्छन् काव्यमा डुबेका जन
झर्दछ माथको केश खुल्ला छ अतिनै मन
जे छ सन्तुष्टि नै लिन्छ नहुँदाननी कुनै धन ।

यौटा चिन्ता सधैं लिन्छ आजको काव्य के भनि
नाम लक्ष्मी थियो राम्रो भएन किन हो धनी
भिडमा चेत वा एक्लै अनेकानेक सोच्दछ
तिखो शर कुनै छैन शब्दले पनि घोच्दछ ।

दिन्छ शीतलता कैल्यै नौ रस पिएझैँ गरी
कैल्यै पुग्छ मनैभित्र कैल्यै पुग्छ दिलै भरी
कैल्यै कालो भिरेलाई जिस्क्याउन हुँदैन है
कि पार्नू भस्म नै खाक झिल्स्याउन हुँदैन है ।

कापी कलमको जोहो सबैभन्दा ठुलो धन
शब्द वाणरूपी लेख्छ नौनीझैँ उसको मन
रवि नपुगेको ठाउँ कवि पुग्छ अरे त्यहाँ
कैल्यै भन्ज्याङ चौतारी कहिले कन्दरा महा ।

डुब्दछ दालमा डाडु फेरि चम्चा चुमे पनि
पाउँदैन कुनै स्वाद जतिसुकै डुबे पनि
बुझे पो स्वाद हुन्छ रे काव्यको रसस्वादन
साहित्यकार सारामा अजस्र शुभकामना ।

कविको प्रेम क्वै छैन कापी र कलमै छ त्यो
के लेख्छ होसमा छैन यही आज अचम्म भो
कविझैँ मूर्ख क्वै छैन लाग्दछ कहिले कतै
मूर्खको कविता सुन्ने महामूर्खहरू सबै ।

पोखरा-८, प्रतिभा मार्ग

विरोध

रविना कँडेल

छन्द:अनुष्टुप
गण:चार पाउको पाँचौँ ह्रस्व र छैटौँ दीर्घ
पहिलो र तेस्रो पाउ–सातौँ दीर्घ
दोस्रो र चौथो पाउ- सातौँ ह्रस्व
विश्राम:आठ अक्षरमा

रविना कँडेल

कहानी एकको हैन सय छन् चोटका कथा
सरकार बनी हिँड्छन् नोटका भोटका कथा

हत्यारा पाउँछन् माफी सानले जेल छाेड्दछन्
मालीले फूलबारीका फूल आँफै निमाेठ्दछन्।

विद्याकाे घरमा आँफै मर्नुपर्ने सरस्वती
कंशकाे राज्यझैँ लाग्छ मलाई देशकाे गति।

छाेरीकाे बाबुले न्याय पाउने कुन मन्त्र हाे ?
धुन्धुकारीहरू पाल्ने याे कस्ताे गणतन्त्र हाे ?

कसरी पुज्दछाै देवी ? के माग्छाै देवतासित ?
सीताकाे देशमा बस्ने चेली छैन सुरक्षित ।

श्रमकाे माेल नै छैन भाेकाे स्वयम् किसान छ
उँचाे सगरमाथा छ झन् उँचाे अभिमान छ।

युवा नै देशमा छैनन् देश भाे वृद्ध आश्रम
रेमिटेन्स सधै लागाेस् देशकाे अर्थतन्त्रमा।

विभेद मेटिऊन् सारा सुखकाे बास हाेस् यहाँ
अपराध नहून् साँच्चै रामराज्य बनाेस् यहाँ।

काँठेखोला -६,बाग्लुङ

किताब

आर्या त्रिपाठी

छन्दः उपजाति (इन्द्रवज्रा+उपेन्द्रवज्रा)
गणः त त ज गुरु गुरु
ज त ज गुरु गुरु
विश्रामः पाँच अक्षरमा

आर्या त्रिपाठी

किताबमा छन् कति धेर ज्ञान
किताब सिङ्गो गुरु नै समान
म पर्छु मख्खै जब हेर्छु चित्र
म देख्छु संसार यहीँ विचित्र ।

किताबमा अक्षरका नदी छन्
ती शब्दभित्रै पनि जिन्दगी छन्
म बुझ्छु ती अक्षरका रहस्य
संसार मीठो छ यहीँ अवश्य ।

किताबलाई अति प्रेम गर्दै
सद्ज्ञान राम्रो सब माझ भर्दै
नयाँ नयाँ ज्ञान र सीप छर्दै
सकूँ म हिँड्नै नदनाद तर्दै।

सबै सबैमा गुण लाउँदैछ
सत्मार्गमा हिँड्न सिकाउँदैछ
किताबले पार्छ सफा बिहानी
उज्यालिँदै जान्छ नि जिन्दगानी।

ज्ञानी बनी पढ्न र लेख्नलाई
बसौँ सबै पुस्तक नै समाई
सिँगार्न सारा प्रिय देशलाई
आऊ पढौँ है मन यो लगाई ।

किताबका भाव म बुझ्न सक्छु
यस्मै नयाँ जीवन देख्न सक्छु
म ज्ञान यो देशभरी छरेर
सत्कर्ममा लाग्दछु गम्किएर ।

ज्ञानसागर एकेडेमी
कक्षा:८
पाेखरा -२५,हेमजा

सप्तरङ्गी छन्दमाला शृङ्खलाका संयोजकहरू

१. कोशी प्रदेश – माधव पोख्रेल
२. मधेश प्रदेश – सरू बस्नेत
३. वाग्मती प्रदेश – जानुका गुरागाईं
४. गण्डकी प्रदेश –रमा खतिवडा
५. लुम्बिनी प्रदेश –स्वर्ण शिखा
६. कर्णाली प्रदेश –जागेश्वर नेपाल
७. सुदूरपश्चिम प्रदेश–कपिलकिशोर घिमिरे
८.मुलुकबाहिर – प्रभा पोखरेल “फूल”

सप्तरङ्गी छन्दमालामा प्रकाशनार्थ इमेलः
chhandamalasahityapost@gmail