१.
फूल दिवसको दिन फूल लिएर आएँ
सही गरेँ कि मैले या भुल लिएर आएँ

टोक्लान् है तिमीलाई भमराहरूले भनेर
मैले एउटा मायाको झुल लिएर आएँ

कहाँ टुटे कहाँ फुटे बिरानो बने साइनोहरू
जोड्नलाई फेरि सम्बन्धको पुल लिएर आएँ

तिमी बाँच्यौ त्यता कुनै एकान्तमा एक्लै
त्यही भएर मैले ठूलो हुल लिएर आएँ ।

२.
आश्वसन त धेरै, भित्र खाली पाना हुन्छन्
गफहरू त ठूला ठूला काम साना हुन्छन्

स्वार्थी संसारमा सबै हिँड्छन् स्वार्थ बोकी
नहुँदा त्यो धन आफन्त ‘नि बिराना हुन्छन्

खुशीमा र दुःखमा टिलपिलाउँछन् नयनबाट
गालाबाट लड्दै जाँदा आँसुका दाना हुन्छन्

ठिकै छ जिन्दगी यात्रा रहेछ एक यात्रीको
गरिबीको नीलो आकास घरको छाना हुन्छन् ।

खिजीदेम्वा–३, ओखलढुङ्गा
हालः–काठमाडौं