१.
मैले आफ्ना नै पराइ हुने त्यो जमिनको साँध देखेको छु
मैले हाँसोले रोक्न नसकेको त्यो आँशुको बाँध देखेको छु
नसोध मलाई जिन्दगीमा के नै देख्यौ होला त्यस्तो भयावह
मैले जिम्मेवारीले थाकेका बुबाको त्यो काँध देखेको छु

२.
बिरामीद्वारा नै औषधीको जानकारी लिने गरिन्छ यहाँ
वडाध्यक्षद्वारा इन्जिनियरिङको ज्ञान लिने गरिन्छ यहाँ
वैज्ञानिकको भन्दा बढी इज्जत ढोगी बाबाको हुन्छ
पशुतामा लिप्त भएको मुर्खसँग अर्ति लिने गरिन्छ यहाँ

४.
व्यावहारिक अशक्तलाई मैले दान दिनु छ
अन्धकारमा हराएकालाई मैले ज्ञान दिनु छ
के छ तिम्रो भोलिका सपना भनी नसोध्नु
झुकेका ती शीरलाई मैले सम्मान दिनु छ

५.
दिनहुँ पकाउँदैमा खाना, मिठो हुँदैन
धेरै हाँस्दैमा मनको पीडा, निको हुँदैन
ठूलो स्वरमा बोल्ने आफ्नो बानी सुधार
चिच्याउँदैमा झुट कहिल्यै, साँचो हुँदैन

६.
फूलले सुवास नदिने हो भने सुगन्ध केको छर्छौं
ज्ञानले अन्धकार मेटिदिने हो भने घमण्ड केको भर्छौ
समयको चक्रमा परी आखिर जानुछ एकदिन हराएर
अस्तित्वै विलीन नभइदिने हो भने तारिफ केको गर्छौ

७.
हाँसो दुईपल अनुहारमा ल्याउन यहाँ हरपल रुनु पर्छ
वाहवाही कसैको सुन्न यहाँ चितामा सजिएको हुनुपर्छ
नसोध मलाई यो जीवन कति सुन्दर छ जिउनको लागि
जवाफ दिनलाई त जीवन खुसीका साथ जिएको हुनुपर्छ ।

भरतपुर २५, चितवन