भेटेर कहिले पनि भेट्ने रहर पुग्दैन
खै तिमीलाई यो कुराको खबर पुग्दैन

थाहा छ र पनि तिमीसँग मागिरहन्छु
मागेको खुसीले त जीवनभर पुग्दैन

के गुनासो गर्छ होला र बगरले पनि
नदी नपुगेको ठाउँसम्म बगर पुग्दैन

अरु कसैको भएर पनि तिमी मेरो हौ
सबैलाई मलाई जस्तो अवसर पुग्दैन

तिम्रा ओठहरू मेरो ओठसम्म पुग्छ्न्
खाली छ सिउँदो शिरमा नजर पुग्दैन

बाडुल्की लागेकै भरमा उसको समीप पुग्छु
मेरो मान्छे सपनामा पनि पाँचथर पुग्दैन ।

पाँचथर