मलाई देखेर कुद्न लाग्दैछ ऊ आज
अबेरै भए जसरी भाग्दैछ ऊ आज

म गरीब भेटेर होला साथी नै भए नि
रुमाल झिकेर मुख ढाक्दैछ ऊ आज

घमण्ड के को हो मित्र सुटुक्क भने थेँ
साँढेको हुंकार जसरी जाग्दैछ ऊ आज

सवारी गरेर आयो धनाढ्य भएछ
निम्छरो मसँग द्वेष राख्दैछ ऊ आज

बाध्यतासँग खेलेर बिचरा चेलीको
बदली बदली यौवन चाख्दैछ ऊ आज ।