।।१।।
मेहनतीको मोल छैन कामदारको कमाइ छैन
पौरखीको बल छैन जमिन्दारको जमाइ छैन
विध्वंस, विद्वेष र विस्थापनको लम्बेतान युगमा
शासकहरूको शासन छैन राज्यको रजाइँ छैन ।।
।।२।।
उद्योग कारखाना बेचिसके कुनै काम काजै छैन
दिउँसो थियो डिग्री दिंदै टिकट काट्यो साँझै छैन
खोइ कसरी चलेको छ मेरो देश भनौं हजूर ?
हत्याराको शासनमा गुण्डा तस्करको लाजै छैन ।।
।।३।।
टाउका मिले पैतालाको धूलो चाट्न पाइन्छ हजूर
पछि पछि लागे तानो मिले मानो खान पाइन्छ हजूर
निमुखा भन्छन् तुलसी माला जपी बस्यो भने यहाँ
मौकामा चौका हान्न जारसँग पनि मित लाइन्छ हजूर ।।
।।४।।
रित्ता झोला बाहिरिए पनि भरिला बाकस आउँछन् यहाँ
कलिला मुना चुडिन्छन् हरदम चिलहरू धाउँछन् यहाँ
स्वाभिमान बेच्नेहरूको बिगबिगी चलिरहेछ आजकल
आत्म–सम्मान खोज्नेहरूले दण्ड सजायँ पाउँछन् यहाँ ।।
दैलातुङ, पाल्पा, नेपाल