१.
केही पाइरहेको थियो उस्ले केही गुमाइरहेको थियो
जस्तै घाटले मुर्दा आगोले चिता जलाइरहेको थियो

तमासा हेर्ने झुम्मिएको थियो ऊ पानी माग्दै थियो
यस्तो लाग्यो दुर्घटनाको नाटक देखाइरहेको थियो

मलाई छोडेकै दिनदेखि ऊ कलाकार भाको रहेछ
चोक मा बसेर मेरै बारे दुनिया हँसाइरहेको थियो

चाहेको भए उखेल्न सक्ने तागत थियो एकहलमा
के गर्नु र एउटै मेहेले, दुबैलाई घुमाइरहेको थियो

यतिको नखरा त चाहिन्छ चाहिन्छ एक प्यारमा
नबताएर के भो प्यार, आँखैले बताइरहेको थियो

२.
मलिन चेहरा छ केही न केही गुमाएको हुनुपर्छ
या त अन्जानमा बाटो बिराएको हुनु पर्छ

आहा ! क्या गज्जबको नाटक गर्यौ तिम्ले मसँग
ताली बजाउनुस् ऊ रङ्गमन्चबाट आएको हुनुपर्छ

चोरको दुस्मन चोर भने जस्तो त्यस्तै रहेछ छिमेकी
मैले धान फलाको देखेरै कुन्यु सल्काएको हुनुपर्छ

जल्न पनि कति सकेको आफ्ना भनाउँदाहरू नै
उचाइ देखेर बरु दुस्मनले शिर झुकाएको हुनुपर्छ ।

आमचोक -८, भोजपुर
हालः कोरिया