एक दिन एक परी आई र फिलमा बसी
एकछिन मनको डिलमा, पछि दिलमा बसी

पीडाले मरेतुल्य म मलमको खोजीमा थिएँ
बस्न त बसी मनमा ऊ पनि तर नीलमा बसी

जे भए नि, पहिलो जस्तो अमूल्य हुँदैन, पछिको
यो दिलमा पहिला अरु थियो, ऊ तपसिलमा बसी

सारा दुनियाँ रमिते हो, हेर्छ र फर्कन्छ
ऊ पनि मेरा आँसुको टिलपिलमा बसी

अरे किन चिन्ता, मान्छे एकछिनको पाहुना न हो
कता जानु थियो गई ऊ पनि चीलमा बसी ।

चिठी लेखेँ

टाढै बसी मनसँग मन कुरा गर्न चिठी लेखेँ
खाली दिलमा ‘म’ बसाउन, पाना भर्न चिठी लेखेँ

आफ्नासँग कुराकानी, मिठा बात् हुन् सधैँभरि
मैले तिम्रो चौतारीमा बोझ् बिसाउन चिठी लेखेँ

तिम्राबारे मेरो मनमा कस्ता कस्ता भाव आउँछन्
तिम्रो मनमा मेरो मनको बिज छर्न चिठी लेखेँ

मेरो बगैंचामा आज सुख्खा याम छ, खडेरी छ
तिम्रै बगैंचामा फुली त्यहीँ झर्न चिठी लेखेँ

जीवन न हो, कहिले दुःख, कहिले सुख, चक्र जस्तो
दुःखबाट टाढा जान, साँघु तर्न चिठी लेखेँ

मान्छेहरू कतिकति, बस्नसम्म ठाउँ भएन
त्यसैले त तिम्रै दिलमा बसाइँ सर्न चिठी लेखेँ ।

भक्तपुर, थिमि