गजल–१

तिम्रो खुशी हेर्न धनदौलत सबै सुम्पेथेँ तिमीलाई
तर आलय छाडि दगुर्दै भाग्यौ देखेथेँ तिमीलाई

उथल पुथलको तरङ्ग र कम्पन चल्दथ्यो घरिघरि
मृत्युधारको दोबाटोमा नि ढाल भई छेकेथेँ तिमीलाई

निष्ठुरी रहिछौ फे-यौ बाटो भुल्दै रङ्गीन स्वप्नहरू
रोक्नलाई मैले हरदम कति प्रयास गरेथेँ तिमीलाई

अत्तोपत्तो छैन अझैसम्म गयौ कुन ठाउँ अँध्यारोमा
पायौ कि पाएनौ एउटा ईमेल लेखेथेँ तिमीलाई ।

गजल–२

लोग्ने र स्वास्नीहरू फेर्नेकै दिन छ यहाँ
सिंहासन आरोहण अति सौखिन छ यहाँ

जति पतित भएनि हौसिएर रमाउँदै
समाजमा उही ठाँटले आसिन छ यहाँ

नैतिकता र लाजसरम हराएकासँग
गर्नेलाई भन्दा देख्नेलाई घिन छ यहाँ

ऐशले झन्झनाउन नर्तकीहरूलाई
लुटेको धन, दौलत र जमीन छ यहाँ

उँभोभन्दा अधोगतिको उभार छ देशमा
त्यसैले सबैको थाप्लोमा चर्को रिन छ यहाँ

खै कता हराउँछन् अधिकारकर्मीहरू
राजसी खान्दानकै हैकम र अधिन छ यहाँ

बरु भइरहेछ सजिलो चन्द्रमा पुग्न आज
तर कुप्रथाको जालो चिर्न कठिन छ यहाँ ।

 

गजल–३

लर्को विदेशको बोकी ऋणको भारी युवा
गाउँघर र शहर सुनसान पारी युवा

टिलपिल आँशु नयनमा बोकी हिँड्दै
झरी र घाम ओत्ने बनाउन छहारी युवा

मुस्किल भो गुजारा चलाउन घरमा
चिथोर्दा पनि दश नङ्ग्राले बारी युवा

रहर त थियो भन्छन् देशमै रमाउने
तर सकेनन् हिँडेर छिचोल्न घारी युवा

आशाको भकारी कहिले भरिने होला
फर्कन स्वदेश सबै गुणकारी युवा ।

नागार्जुन–१०, स्युचाटार, काठमाडौँ