के गर्छौ त मेरी रानी ! कमल फुल्यो हिलोमा नै
गिद्दहरू रमाइदिन्छन् चोक्टा अनि बिलोमा नै
समाजका प्रश्न हामीसामु खात लाग्छन्
तिम्रो भाग्य अल्झिएछ मक्किएको किलोमा नै


तिमी छौ र माया छ साहस छ आँट छ
तिमी छौ र शंका छ नखरा छ ठाँट छ
तिमी छैनौ के छ यहाँ ? सबथोक बेकार छ
तिमी छौ र आकाश छ मैदान छ फाँट छ


तिमी बिनाको जुनी बाँचेर के अर्थ छ र !
हर्ष बिनाको हाँसो हाँसेर के अर्थ छ र !
सपनामा जपनामा रटनामा तिमी छौ
साथ बिनाको माया साँचेर के अर्थ छ र !


आँसु बगाई सहिदिन्छु विश्वासघाती मुक्काहरू
हदै सहेँ तिमीले दिएको थुइया अनि थुक्काहरू
घाउ लगायौ त गीतहरूले मल्हमपट्टि गरिरहेँ
हानिरह्यौ छानीछानी उखान र टुक्काहरू ।