(१)
कविताको पीड़ा भनेको नि आँसु बेसरी खस्नु रैछ
कवितासित खेलाँची गर्नु कवितालाई नै डस्नु रैछ
रूप-रस,आकर्षण रसिलो मोहनीय हुन्छ कविताको
कविता नपढ्नु असभ्यताको जङ्गलमा पस्नु रैछ
कविताहरूको भीड़ छ, भीड़मा बेपत्ता छ कविता नै
भीड़मा कविता नहुनु शब्दजालमा मात्र फस्नु रैछ
हल्लाखल्ला छ, डङ्कै ठूलो छ कविते इनामहरूको
काखीचेपुवा रगरगीमा कविताले खरानी घस्नु रैछ
वटवृक्ष हो कविता अति पुरानो नपुजी धर नपाइने
कवितालाई मनले पढ़्नु नि ईश्वर छेउ बस्नु रैछ
(२)
विश्वासघातमा पनि दग्ध मन बेहोश छैन
तरल बगेर आँखाबाट कुनै थोक ठोस छैन
ओरालो लागेको मृगसरह भयो माया नै
माया ओरालिनुमा भाग्यको कुनै दोष छैन
शिक्षा भनेकै ज्योति जीवन उज्यालो पार्ने
शिक्षाले माया मार्दा तिम्लाई अफसोस छैन
माया पनि ज्योति नै हो मन उज्जर पार्ने
मायामा जति चोखो अरू कुनै परितोष छैन
अचेल तिमी बेपत्ता मायाको खोजीमा छौ रे
मसित नि तर माया अर्थाउने शब्दकोश छैन  ।
डाउहिल, खरसाङ
भारत।