एक
कसलाई के थाहा कसका पतिहरू के खान्छन्, के लाउँछन्
स्वयंलाई थाहा होला आफ्ना श्रीमतीहरू के खान्छन्, के लाउँछन्
मलाई त यहाँ केवल एउटै चिन्ताले सताएको छ हजुर,
बिचरा हाम्रा ती पूर्व राष्ट्रपतिज्यूहरू के खान्छन्, के लाउँछन् ?

दुई
यहाँ तस्करीका कुरा केवल हावा हो उनै भन्छन्
ईर्ष्या गर्नेहरूको मित्थ्या दावा हो उनै भन्छन्
कर्म पुरा गरी भन्सारे वैतरणी पार गरेका जन्तु,
माउ होइन, त्यो त सानो छावा हो उनै भन्छन् ।

तीन
भीरबाट लडे पनि कीलो रित्तै
बाघले खाए पनि कीलो रित्तै
पोल्यो, पोस्यो, हुर्कायो, बाली लायो,
साहुले फोएपछि असामीको कीलो रित्तै ।

चार
मौलिक हक अधिकारको प्राणै लिन्छ पो कि भन्ने डर भो
लोकतन्त्रको त्यान्द्रो आफसेआफ छिन्छ पो कि भन्ने डर भो
यो हुँदा न खाँदाको संविधान दिवस नआइदिए नि हुन्थ्यो बरु,
आयो कि छानी छानी आम माफी दिन्छ पो कि भन्ने डर भो ।

पाँच
अब यिनका काला करतुत एकेक गरी औँल्याउनु पर्छ
घाती बेइमानीहरूलाई कुस्तुर हुनेगरी ठेउल्याउनु पर्छ
अधम कुपात्रहरूका चङ्गुलबाट बेलैमा देश खोसी,
आफैँले चन्द्र, सूर्य, तारागण सरी उजिल्याउनु पर्छ ।

जराङबेँसी, गोरखा
हाल: क्याल्गरी, क्यानडा ।