मन भित्रका चोटहरू भित्र-भित्रै गल्न थाले
अस्तित्वका पाइलाहरू अन्धाधुन्दा चल्न थाले

मेरो मन्जिल देखाइदेऊ भाग्यका ए रेखाहरू
अनवरत पर्खी बस्छु भेट्टाइदेऊ न मलाई बरु

कोरिएका कागजपत्र एकाएक जल्न थाले
मभित्रका आस्थाहरू परालसँगै बल्न थाले

उनको आत्मा फर्काइदेऊ सक्ने भए आशाहरू
किन भुक्छौ बिनसित्ती आडम्बरका गाथाहरू

मेरो चिता र राग सबै अनायासै मात्न थाले
विरहका भाकाहरू गुनगुनाउँदै जाग्न थाले

विकृतिमा उछिट्टी देऊ आगोका ए झिल्काहरू
किन घस्छौ विनामतलब खरानीका मिल्काहरू

झरीजस्तै आँसुका भेल तप्पतप्प झर्न थाले
मेरा सपना आधी बाटो नपुग्दा नै मर्न थाले ।

 

मुसिकोट-१, रुकुम पश्चिम