हे दैव कस्तो नियति जन्मायौ ?
अदृश्य खाडलमा खस्न पुगेछु
अनजानै कस्तो परिधि जुरायौ ?
आँसुको आहालमा डुब्न पुगेछु
अरू जस्तै गरी ए मेरो स्वामी
स्वार्थको दलदलमा फसौँ कसरी ?
बिन्ती छ रत्ति भनिदेऊ तिमी
जाली दुनियाँलाई ठगौँ कसरी ?
परमेश्वर तिमी कता होमियौ ?
आस्थाको तिम्रो खम्बा ठड्याउँछु
जुठो उछिट्ट्याई किन चोखियौ ?
भत्केको घरमा आँगन सजाउँछु
जन्माइदेऊ मेरो भिन्नै संसार
अन्यायको आरम्भ भयो त्यसरी
कुकर्म सिकाऊ नित्य झिकाई
शिष्टताको लिलाम भयो जसरी
हे ईश्वर कस्तो नीति बनायौ ?
अक्षम्य गलतीमा ढल्न पुगेछु
अत्यन्तै सस्तो चरित्र निभायौ
विकृतिको हत्यारा बन्न पुगेछु
कुरीति निम्त्याऊ झट्टै म भित्र
तिम्रो त्यो संस्कार समेटूँ कसरी ?
कल्प मेटाऊ विश्वासको मेरो
भरोसाको आडमा रहूँ कसरी ?
महेश तिमिले कहाँ पुर्यायौ ?
उज्जन्ड कोपिला निमोठ्न पुगेछु
व्यर्थै जीवनको स्वाद चखायौ
चपेटामा दुर्भाग्य खोप्न पुगेछु
त्रिलोक पुर्याऊ छिट्टै मलाई
अचानोको भरमा बाचूँ कसोरी ?
अन्त्येष्टि गर यो माटो मिसाई
आगोमा गोडा यी झोसूँ कसोरी ?
हे दैव कस्तो …
मुसिकोट-१, रुकुम पश्चिम
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।