स्मृतिले मथिंगल परिसर छोडेन
पीडाले त्यसो त जीवनभर छोडेन

रुपैयाँ पूजामा जलाको दीयोले
खरानी बनायो कुनै घर छोडेन

अझै नि त्यता त कुचो चाहिँदो हो
हावाले यता त कसिंगर छोडेन

म माछा बनिनँ जुनी यो फेरेर
मोतीले पनि त समुद्र छोडेन

दोकाने र ग्राहक दुवैले छोडे नि
बिचौलियाले हो आडम्बर छोडेन ।


भगवान हूँ भन्दथे जो पैसा पाए पागल भए
तमाम हिउँका सागरहरू हेर्दाहेर्दै बादल भए

हेलिकोप्टरभित्र बसी उडेका छन् मेरा आफ्ना
आउँथे होला मेरो घरमा पनि विमानस्थल भए ?

म हिलो हूँ मेरो जूनी पनि सार्थक हुन्थ्यो होला
मेरो शिरमा हाँसीहाँसी फुलिदिने कमल भए

सोलुखुम्बु हुन्छु भन्थे, इलाम पनि भएनछन्
अभिमानी पहाडहरू केवल कचनकवल भए ।


कण्ठ सानो छ निल्नु बडेमानको हाड छ
ननिले त छिन्छु म कत्तिमा मेरो ढाड छ

यहाँ सबै मान्छेहरू बहुत बेखुश रहेछन्
साना साना पार्कमा पनि क्या भीडभाड छ

मरेपछि पनि बाँच्ने भनेको त उही हो
जोसँग एक मृत्युको जादुमयी जुगाड छ

सकी नसकी पनि उठ हिँड जुत्ता लगाई
कहाँ चढ्नुपर्ने एउटा मात्रै पहाड छ ?

उन्ले पनि भनिन् मैले पनि भनेँ भन्न त
हावा रैछ को बिना कसको जीवन उजाड छ ?


भन्ने मन नै छैन यार के भन्नू भन्दिनँ
दु:खको छ समाचार के भन्नू भन्दिनँ

चम्चेहरूले गरून् भनुन् जे भन्नू छ
गधालाई नमस्कार के भन्नू भन्दिनँ

नाथे तिनै सय मात्र हो लगेको त
तिर्दैन बारम्बार के भन्नू भन्दिनँ

जसले तिमीलाई खुशी राखेको छ
उसैलाई अब जार के भन्नु भन्दिनँ ।


यति सोचे पुग्ला कि हामीहरूले
के भन्लान् मलाई मलामीहरूले

न डाक्टरले देखे न धामीहरूले
थिए मागेका प्रेम बिरामीहरूले

कुटी हौसलाको बनाए बुलन्द
के सक्लान् बगाउन सुनामीहरूले

ओ शासक तिमीले कहिल्यै देखेनौ
कसोरी बचाए ती ज्यामीहरूले

जबर्जस्ती हैन लिएको कुनै ऋण
नतिरे के गर्छौ आसामीहरूले ।