गजल

याद बन्छ र त्यस्को तस्बिर बन्छ
जीवन बाँच्ने प्रेरणाको जन्जिर बन्छ

हिउँद मीठो छ मेरो लेकको टाकुरालाई
वर्षाले सिर्फ यो माटो अस्थिर बन्छ

बा गाउँमा तातोपानी सम्झेर अस्ताए
श्राद्धमा अमेरिकामा उन्को नामको खिर बन्छ

दुई किसिमको माटो छ सृष्टिकर्तासँग
एउटाले मेरो मन अर्कोले तिम्रो शरीर बन्छ

द्वेषले ईर्ष्याले वा घृणाले एक एक ढुङ्गा फ्याँक्देऊ
त्यसैको जगमा पवित्रताको मन्दिर बन्छ ।

गजल

जब बाटो छेउ मेरो घर आउनेछ
उस्ले नखोज्दै मलाई भेट्टाउनेछ

हिजो लखेटेको जूनकीरी फिर्ता बोलाऊ
घाम आज पनि त अस्ताउनेछ

हात समाएर लैजान्छ रे गइदिनुस्
नत्र कठालो पनि समाउनेछ

मलाई छोडे पनि मेरो जुत्ता लैजानू
बाटोमा काँडाले सताउनेछ

बाढीले गुलाब मिचेको धेरै भयो
यहाँ कमल कहिले पलाउनेछ?

परिचय नगरौं हामी, अन्जान बसौं
तिमीलाई परिस्थितिले चिनाउनेछ ।

रमेश लामिछाने